सेन्सर बोर्डबाट ‘ननसेन्सर’ सदस्यलाई हटाएर कला बुझेकोलाई नियुक्त गर्न सांसद शाहको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न आग्रह गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहले रिलिजको मुखमा फिल्ममा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति बढेकोमा विरोध जनाउँदै यस्तो आग्रह गरेका हुन्।
नौ वर्षअघि तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बोलेको दृश्यलाई समेटेर फिल्म बनाउँदा ‘राजागंज’लाई सेन्सर गरिएकोमा उनले विरोध गरे।
चलचित्र समाजको ऐना रहेको बताउँदै सांसद शाहले फिल्ममार्फत समाजका कुरा व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेकोमा असन्तुष्टि व्यक्त गरे।
चलचित्रकर्मीले अघि बढाउन खोजेको सेन्सरसिपको आन्दोलनमा आफूले ऐक्यबद्धता जनाउँदै उनले राजनीतिक नियुक्ति पाएका सबै सेन्सर बोर्डका ‘ननसेन्सर’ सदस्यलाई हटाएर कला बुझेको मान्छे नियुक्त गर्न उनले ध्यानाकर्षण गराए।
चैत ३, २०८१ आइतबार १२:३१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।