स्तरोन्नति र बजेट अभावमा अलपत्र कर्णालीका विमानस्थल, बनेका पनि प्रयोगमै आएनन्

सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लामध्ये सात जिल्लामा विमानस्थल छन्। दैलेख, सल्यान र जाजरकोटमा विमानस्थल नहुँदा सुर्खेत, कालिकोट, हुम्ला, जुम्ला र मुगुमा एक-एक तथा डोल्पा र रुकुम पश्चिममा दुई-दुई वटा विमानस्थल छन्। तर, भएका विमानस्थलमध्ये एकदमै थोरै मात्र सञ्चालनमा छन्। केही पुनर्निर्माणको प्रतिक्षामा छन् त केही स्तरोन्नत्ति भएका छैनन्।
प्रदेश राजधानी रहेको वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थल पनि स्तरोन्नति हुन सकेको छैन। लामो समयदेखि यो विमानस्थल विस्तारमा विवाद देखिएको छ। कहिले राजनीतिक नेतृत्वहरूको आपसी लडाइँले त कहिल्यै स्थानीयको अवरोधका कारण यो विमानस्थलले मुहार फेर्न सकेको छैन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फागुन १५ मा गरेको मन्त्रीस्तरीय निर्णयले सुर्खेत विमानस्थलमा फेरि विवाद देखिएको छ। चालु आर्थिक वर्षमा सुर्खेत विमानस्थल विस्तार योजनाअन्तर्गत १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षभित्रै कार्यान्वयनमा जाने गरी विमानस्थलको उत्तरतर्फ रहेको जग्गा अधिकरण र अमरज्योति माविलाई स्थानान्तरण गर्न रकम माग गरिएको छ। यसका लागि झण्डै ५ अर्ब बजेट लाग्ने अनुमान छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस भएका तीनवटा विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिकरणमा थप बजेट व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा पत्र लेखेको छ। तीन विमानस्थल विस्तारका लागि चालु आर्थिक वर्षमा काम अघि बढाउन ४ अर्ब ९० करोड रुपैयाँको स्रोत सुनिश्चितताका लागि माग गरिएको छ। तर, काम भने हुन सकेको छैन।
कर्णालीकै जुम्ला विमानस्थल पनि स्तरोन्नतिको पर्खाइमा छ। सञ्चालनमा रहेको विमानस्थलले धावनमार्ग विस्तार गर्न जग्गा अधिकरणमा आवश्यक पर्ने बजेटको अभाव झेलिरहेको छ। विमानस्थल विस्तारका लागि १८३.०५ रोपनी जग्गा अधिग्रहण गर्न ४४ करोड गरी कुल विमानस्थल विस्तारमा एक अर्ब लाग्ने अनुमान छ।
यात्रुको चाप हुने यो विमानस्थलको धावनमार्ग छोटो हुँदा १८ र १९ सिटे जहाजले मात्र उडान-अवतरण गर्छन्। संघीय सरकारले जग्गा अधिग्रहणका लागि चालु आर्थिक वर्षमा १० करोड विनियोजन गरेको छ।
मुगुको ताल्चा विमानस्थल पनि संरचनाको अभाव झेल्दै आएको छ। रारा तालसँगै जोडिएको विमानस्थल भएका कारण यहाँ यात्रुको चाप बढ्दो छ। तर, भौतिक संरचनाकै कारण यो विमानस्थल जोखिममा छ।
यता करोडौं रकम खर्चेर निर्माण गरिएका तीन विमानस्थल भने प्रयोगविहीन अवस्थामा छन्। कालिकोटको नरहरिनाथ गाउँपालिका-१ स्थित कोटबाडामा निर्माण गरिएको सुनथराली विमानस्थलमा परीक्षण उडान बाहेक व्यावसायिक उडान हुन सकेको छैन। २०४२ सालबाट निर्माण सुरू गरेर ३९ वर्षमा निर्माण सम्पन्न गरिएको विमानस्थल अहिले स्थानीयका लागि खेल्ने पार्क बनेको छ।
जीवनबहादुर शाही नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा २९ माघ २०७३ मा पहिलो पटक यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। त्यसपछि १४ फागुन २०८० मा तत्कालीन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, कर्णालीका तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुई वटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका थिए। तर त्यसयता यो विमानस्थलमा कुनै उडान भएका छैनन्।
उता रुकुम पश्चिमको चौरजहारी विमानस्थलको अवस्था पनि कालिकोटको भन्दा फरक छैन। छ वर्षदेखि त्यहाँको विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत नागरिकले हवाई सेवा पाउन सकेका छैनन्। २०७५ सालदेखि बन्द विमानस्थल सञ्चालनमा छैन।
२०७२ सालमा ५ करोड ५९ लाख ४९ हजार रुपैयाँ खर्चेर बनाइएको यो विमानस्थलमा अहिले घाँस उम्रेको छ। डोल्पाको मसिनेचौर विमानस्थल निर्माणको काम सम्पन्न भइसक्दा पनि परीक्षण उडानको काम समेत भएको छैन।
डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिकास्थित जुफाल विमानस्थलको हालत पनि उस्तै छ। २०६६ सालदेखि विमानस्थल निर्माण थालेर २०६८ मा सकिए पनि विमानस्थला विमान आउँदैनन्। जसले गर्दा विमानस्थल प्रयोगविहीन भएको छ।
चैत ३, २०८१ आइतबार १२:०८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।