प्रधानमन्त्री कप : लगातार चार खेल हारेको कोशीको पहिलो जित

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आइतबारको खेलमा कोशी प्रदेशले पहिलो जित निकालेको छ।
पछिल्ला चार खेलमा लगातार हार व्यहोरिरहेको कोशी प्रदेशले प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध नौ विकेटको पहिलो जित निकालेको हो।
३२ रनको लक्ष्य पछ्याएको कोशीले ८.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो। उसका लागि चिराग शाह १० रन बनाएर आउट हुँदा साकिब हक र सोनु अन्सारीले नटआउट रहँदै क्रमश: १६ र ४ रन बनाए।
गण्डकीका सुवास भण्डारीले एक विकेट लिए।
त्यसअघि तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा टस हारेर पहिला ब्याटिङमा तानिएको गण्डकीले २०.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३१ रन बनाउन सक्यो।
उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। चार खेलाडी शून्यमै आउट भए।
कोशीका विपिन महतोले छ विकेट लिँदा फिरदोस अन्सारीले तीन र दिपेश कँडेलले विकेट लिए।
चैत ३, २०८१ आइतबार ११:३४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।