शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै बेतालीको जङ्गलमा पनि आगलागी

शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै बेतालीको जङ्गलमा पनि आगलागी

रामेछाप : चैत सुरू हुनेबित्तिकै रामेछापका जङ्गलहरूमा आगलागी सुरु भएको छ।

जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै गोकुलगंगा गाउँपालिकाको बेतालीको जङ्गलमा पनि आगो लागेको छ।

शैलुङको जङ्गलमा शुक्रबारदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन। दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छाङखोला नजिकैबाट लागेको आगो अहिले शैलुङको जङ्गलमा लागि रहेको छ।

शनिबारबाट जिल्लाको गोकुलगंगा गाउँपालिका-४ बेतालीमा पर्ने लिसेखानी सामुदायिक वन क्षेत्रमा पनि शनिबारबाट डढेलो लागेको छ।

बस्ती नजिकैको जङ्गलमा सल्केको डढेलोको कारण केही घर समेत उच्च जोखिममा छन्। दुवै तर्फको डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय जुटिरहेका छन्।

टोकरपुरको डढेलो ठुलो वन क्षेत्रमा फैलिएकोले नियन्त्रण बाहिर पुगेको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

चैत ३, २०८१ आइतबार १०:१७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।