स्रष्टालाई सम्मान गर्दै सुरु भयो भ्वाइस युनिभर्स र डान्स युनिभर्सको पूर्वी अडिसन

स्रष्टालाई सम्मान गर्दै सुरु भयो भ्वाइस युनिभर्स र डान्स युनिभर्सको पूर्वी अडिसन

झापा :रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको पूर्व क्षेत्रका लागि तय भएको अडिसन शनिवार सुरु भएको छ। प्रतिष्पर्धीहरुको भिडभाडका बिच पूर्वका दुई स्रष्टाहरू वरिष्ठ गीतकार शिवशङ्कर थापा र वरिष्ठ गायक कुवेर राई र इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले अडिसन सुरु गरे।

सो अवसरमा अध्यक्ष अधिकारीले नेपाली सङ्गीत क्षेत्रमा स्थापित श्रष्टाद्धयलाई पुष्पगुच्छा एवं नगदसहित सम्मान गरेका थिए। सो अवसरमा अध्यक्ष अधिकारीले कलाकारहरू समाजका अगुवा हुने हुनाले समाजलाई उदाहरण बनेर डोर्याउन आग्रह गरे।

उनले नेपालीपन र नेपाली पहिचानलाई विश्वभर रहेका नेपालीजनमा जीवन्त राख्न, अर्को पुस्तामा पनि नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न र विश्वभरका नेपालीलाई नेपाली कला संस्कृतिका माध्यमबाट नेपालसँग जोड्नका लागि यी दुई रियालिटी शोहरु आयोजना गरिएको बताए।

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स पूर्वी क्षेत्र अडिसनका संयोजक रूपक ओडारीले दिएको जानकारीअनुसार, सो क्षेत्रमा दुवै शोका  लागि ११ सय ४३ प्रतिभाहरूले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन्।

पहिलो दिन शनिवार बिर्तामोडको ग्रिन फिल्ड स्कुलमा बिहान ११ बजेदेखि सुरु भएको अडिसनमा ६ सयको हाराहारीमा प्रतिभाहरूले प्रतिस्पर्धा गरेका छन्। बाँकी प्रतिष्पर्धीहरुले आइतबार सहभागिता जनाउने छन्।

आयोजक संस्थाका राजेश घतानीका अनुसार, इच्छुक प्रतिभाहरूले सिधै अडिसनस्थलमै गएर पनि नाम दर्ता गराउन सक्ने व्यवस्था भएकाले सहभागीहरूको सङ्ख्या बढेको छ। उनका अनुसार, गायनमा प्रतिष्पर्धीहरुको सङ्ख्या धेरै भएकाले प्रिअडिसनमा छनौट भइसकेपछि अडिसनमा सहभागी गराइएको र त्यसबाट पनि छनौट भएकाहरूलाई फाइनल अडिसनमा लगी अन्तिम छनौट गरिएको छ।

नृत्यको लागि भने प्रि अडिसन र फाइनल अडिसन गरी दुई चरणमा प्रतिष्पर्धीहरुको छनौट प्रक्रिया निर्धारण गरिएको उनले बताए ।संसारभरका नेपाली प्रतिभाहरू बिच प्रतिस्पर्धा गराउने यी दुई रियालिटी शोहरुको लण्डन, पोर्चुगल,अस्ट्रेलिया, जापान, थाइल्यान्ड, हंगकंग, दुबई, कतार, मुम्बई र सिलिगुडीका अडिसनहरू सम्पन्न भइसकेका छन्।

नेपालमा पनि पोखरा र नेपालगन्जका अडिसनहरू समापन भएका छन् भने बिर्तामोडपछि चैत्र १६ र १७ गते काठमाडौँमा अडिसन हुनेछ।

प्रथम हुनेले हालसम्मकै सर्वाधिक पुरस्कार राशि एक करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख रकम पाउने यी दुवै शोहरुमा संसारभरबाट एक सय २० जना गायनमा र त्यत्ति नै सङ्ख्यामा नृत्यमा प्रतिभाहरू छनौट गरेर काठमाडौं लगिने आयोजकले जनाएको छ।

चैत २, २०८१ शनिबार २३:०७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।