सीताके च्याउ खेतीबाट आत्मनिर्भरता: विदेश जाने सपना त्यागेर स्वदेशमै सफलता

डडेलधुरा : डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ का अन्तराम जोशीले विदेश जाने सपना त्यागेर गाउँमै सीताके च्याउखेती गरेर मासिक ६० हजारसम्म आम्दानी गर्न सफल भए।
पोल्यान्ड जाने प्रक्रियामा असफल भएपछि काठमाडौँमा सिकेको सीप र गाउँपालिकाको सहयोगमा उनले सुरु गरेको च्याउखेती अहिले सुदूरपश्चिमकै नमुना फार्म बन्दै गएको छ।
विगतमा भारत र मलेसियामा कामदारको रूपमा बिताएका जोशीले अहिले सात सयभन्दा बढी मुढामा च्याउ उत्पादन गरिरहेका छन् र आगामी वर्ष दुई हजारभन्दा बढी मुढामा विस्तार गर्ने योजना बनाएका छन्। कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगले थप प्रोत्साहन मिलेको जोशीले बताए।
'पोल्यान्डको भिसा नलागेकामा कुनै पछुतो छैन, अहिले सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत भइरहेको छ,' जोशीले भने। कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख नरेन्द्र राज पनेरुका अनुसार डडेलधुरामा च्याउ खेतीको राम्रो सम्भावना रहेको र किसानलाई आवश्यक सहयोग प्रदान गरिरहेको छ।
-रासस
चैत २, २०८१ शनिबार २२:३६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।