महोत्तरीका सात स्थानीय तहमा आज होली मनाइँदै

महोत्तरी : यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदैछ।
फागु पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ। यहाँका सात स्थानीय तहमा आज धुमधुमका साथ होली मनाउने तयारी छ।
मधेशमा होली पर्व मनाउने तीन परम्परा छन्। पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउँछन्। त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन पारेर मधेशका धेरैजसाले होली पर्व मनाउने गर्छन्।
यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज जिल्लाका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहासहितका सात स्थानीयतहका गाउँ तथा नगरक्षेत्रमा होली मनाइँदैछ।
खासमा १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीले यात्राको १६औं दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेको भोलिपल्ट होली मनाउने चलन छ।
शुक्रबार अन्तर्गृह परिक्रमा गरिएपछि यी बस्तीमा आज होली मनाउने गरिएको हो। यो मध्यमा परिक्रमा पथको १३३ किलोमिटर वृत्तभित्रका बस्तीभित्रको पुरानो परम्परा हो।
फरक-फरक परम्परागत मान्यताले होली मनाइने दिन फरक परे पनि यहाँ तीनै दिनको होलीमा सबैजसो सरिक हुँदै आएका छन्। यो उल्लासमय रमाइलो पर्व हुनुका साथै आपसी घुलमिलको परिणाम भएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन्।
चैत २, २०८१ शनिबार ०७:३३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।