एकीकृत समाजवादीद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा, राज्य नालायक बनेको आरोप

एकीकृत समाजवादीद्वारा  सरकारविरुद्ध आन्दोलनको घोषणा, राज्य नालायक बनेको आरोप

काठमाडौं : एकीकृत समाजवादीले रोजगारी तथा सुशासनको माग गर्दै सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरेर पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यतालिकासहित कार्यक्रम घोषणा गरेका हुन्।

कार्यक्रम सार्वजनिक गर्दै उनले सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताए। सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै गएको कारण सडक अराजक र पपुलिस्ट हुँदै गएको पनि उनको आरोप छ।

उनले भने, ‘सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकको समस्या समाधान गर्न सक्दैन। राज्य नालायक बन्दै जान्छ, राज्यको नालायकीले सामाजिक असन्तुष्टिलाई बढाउँछ, नालायक राज्यले शक्ति प्रयोग गर्न थाल्छ र अस्थिरताका शक्तिहरू, पुरानो साम्प्रदायिक र पपुलिस्ट तत्त्वहरूले त्यस असन्तुष्टिलाई उत्तेजक बनाउँदै लैजान्छन्। आज मुलुकमा त्यही भइरहेको छ। सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदै छन्। सडक अराजक र पपुलिस्ट हुँदै गएको छ।’

उनले यस्तो अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्मसमीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नु आवश्यक भइसकेको बताए।

आन्दोलनको पहिलो चरणमा चैत्र २-६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत्र ७-१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ-संगठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव संकलन, चैत्र २० गते सरकारलाई ज्ञापन पत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन, वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने रहेको छ।

साथै वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने उनले जानकारी दिए।

चैत १, २०८१ शुक्रबार १७:२५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।