सफलता, कुलत र संघर्ष : सात वर्षमा हनी आफू मात्र फर्किएनन् सडकमा ढोलक बजाउने रागिनीको भाग्य पनि बदलिदिए

काठमाडौँ : अस्मिता अधिकारी, रचना रिमाल। अहिलेका चर्चित अनि व्यस्त यी दुवै गायिकाको गायन यात्रा सामाजिक सञ्जालसँग जोडिएको छ।
उनीहरूले गुनगुनाइरहेको भिडियो जब सामाजिक सञ्जालबाट बाहिरियो अनि दुवैको साङ्गीतिक यात्रा सुरु भयो। रचना घर अगाडिको चटपटे पसलमा बसेर गाइरहेको बेलामा बटुवाले भिडियो खिचेका थिए। अस्मिता स्कुलमा रहेको बेलामा गुनगुनाएकी थिइन्। अहिले यी दुवै नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित भइसकेका छन्।
यस्तै संयोग मिल्यो भारतमा रागिनी विश्वकर्मालाई जो अहिले राष्ट्रिय हैन अन्तर्राष्ट्रिय साङ्गीतिक बजारमा चर्चामा छिन्। जबकि दुई हप्ता अगाडिसम्म उनी को हुन् कमैलाई थाहा थियो।
OOO
हनी सिंहको ‘ग्लोरी’ एल्बमको गीत ‘मेनियक’ सार्वजनिक भएसँगै भारतीय म्युजिक बजार तातिएको छ। दुई साता अगाडि टी-सिरिजको युट्युब च्यानलबाट रिलिज भएको यो गीत बिहीबारसम्ममा १० करोड पटक हेरिएको छ।
यो गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै सडकमा ढोलक बजाएर बस्ने रागिनी विश्वकर्मा पनि हनी सिंहसँगै अहिले मिडियामा छाइरहेकी छिन्।
हनी सिंहको र्यापको बिच-बिचमा भोजपुर बोलको ‘दिदीयाके देवर’ बोलको शब्दमा महिला गायिकाको स्वर आउँछ। त्यो उनै रागिनीले गाएकी हुन्। भारतको उत्तर प्रदेश, गोरखपुरकी हुन् रागिनी। यो गीत रिलिज भएसँगै आर्थिक गुजाराका लागि सडकमा ढोलक बजाएर गीत गाउने उनलाई मिडियामा अन्तर्वार्ता दिएर भ्याइ नसक्नु छ।
दुई हप्ता अगाडिसम्म उनी गुमनाम प्राय थिइन्। उनीबारे इन्टरनेटमा पाइने सामग्री भनेको ढोलक र हार्मोनियम बजाउँदै सडक किनारमा गीत गाएका केही भिडियोहरू थिए जुन बटुवाले खिचेर इन्स्टाग्राम अनि युट्युबतिर राखिदिएका थिए।
जब गीत रिलिज भयो भोजपुरीमा गाउने महिला गायिकाको खोजी सुरु भयो। युट्युबमा उनको नाम राखिएको छ। तर धेरैले अनुमानै गरेनन् उनी त्यही सडक किनारमा ढोलक बजाएर गाउने गायिका हुन् भनेर।
उनी केही मिडियामा सार्वजनिक भइन्। तै पनि शङ्का कायमै थियो। जब हनी सिंहले उनको गीतमा महिलाको स्वर दिने उनै रागिनी हुन् भन्ने खुलाए उनी रातारात हिट भइन्।
इन्ट्राग्रामको भिडियोले बदलेको यात्रा
हनी सिंह स्थायी रूपमा भारतमा बस्दैनन्। उनी दुबईमा बस्छन्। ट्र्याक निर्माणदेखि गीत रेकर्डिङको कामसम्म उनले उतै गर्ने गरेका छन्। रागिनीको स्वर रहेको गीत पनि उनले दुबइमै रेकर्ड गराएका थिए।
हनी सिंहले आजतकसँगको अन्तर्वार्तामा खुलाए अनुसार कपिल शर्माको टक शोमा सहभागी भएको बेलामा उनको एक फ्यानले भोजपुरीमा पनि गीत गाउन आग्रह गरेका थिए। उनले वाचा पनि गरे तर मौका पाएका थिएनन्।
एक दिन इन्ट्राग्राममा भिडियो हेर्दै जाँदा उनले सडक किनारामा ढोलक बजाउँदै गीत गाइरहेकी रागिनीको भिडियोमा पुगे। भोजपुरी भाषा सुनेपछि उनी भिडियोमा अडिए।
उनी ‘मेनियक’ गीतको काम गरिरहेका थिए। रागिनीलाई सिधै दुबई बोलाएर गीत रेकर्ड गराउँदा डराएर गाउन नसक्ने हो कि भन्ने लाग्यो उनलाई। अनि उनले आफ्नो साउन्ड इन्जिनिरयलाई रागिनी जहाँ, जसरी गाउँछिन् त्यहीँ पुगेर गीत रेकर्ड गरेर ल्याउन भने। उनको सहयोगीले त्यसै गरे र रेकर्ड भएको गीत हनी सिंहलाई पठाइदिए।
रागिनीलाई आफ्नो गीत रेकर्ड भएको थाहै थिएन। अनि हनी सिंहसँगै उनको स्वर पनि बज्छ भन्ने त कल्पना बाहिरको विषय भइहाल्यो। उनी आफ्नै दैनिकीमा थिइन्।
फेब्रुअरी २२ मा हनी सिंहको नयाँ गीतको म्युजिक भिडियो टी सिरिजको युट्युब च्यानलबाट रिलिज भयो जसमा हनी सिंहसँगै ईसा गुप्ता देखिइन्। त्यो बेलासम्म उनको आवाज हनी सिंहको गीतमा आएको पत्तै थिएन। जब मिडियाकर्मीहरूले फोन गर्न थाले अनि मात्र उनले थाहा पाइन्। रागिनीको सेलिब्रिटी यात्रा सुरु भयो।
गीतको मिश्रित प्रतिक्रिया आइरहेको छ। शब्द ‘अश्लील’ भएको भन्दै आलोचना पनि भइरहेको छ। उता सडक किनारमा गाएर बस्ने एक महिलाको आवाजलाई स्थान दिएर रातारात स्टार बनाएकोमा हनीको प्रशंसा समेत भइरहेको छ।
लागूपदार्थको लतसँग जुधेर ‘नयाँ जन्म’
हनी सिंहको पारिवारिक पृष्ठभूमि पनि सामान्य नै हो। २० वर्ष अगाडि एकाएक उनी भारतीय र्यापको दुनियाँमा प्रवेश गरेका थिए। सन् २००५ मा उनको पहिलो गीत रिलिज भएको थियो।
जब उनको गीत रिलिज भयो पछाडि फर्किनु परेन। महँगा क्लब हुन् या विवाहोत्सव हुन् या सडक किनार, सबैतिर उनको स्वरले कब्जा हान्यो। बलिउडमा उनकै माग हुन थाल्यो। स्टेज शो गरेर नभ्याउने अवस्थामा पुगे।
उनको साङ्गीतिक यात्रा निकै उचाइमा पुगिसकेको थियो। हनी सिंह यो यो हनी सिंहको रूपमा चर्चित भइसकेका थिए। तर एकाएक सन् २०१७ बाट उनी हराए। उनका नयाँ गीत आउन छाडे। उनी कहाँ छन् रहस्यमै रह्यो।
सात वर्षपछि एकाएक हनी सिंह सार्वजनिक भए आफ्नो कुलतको कथा बोकेर। लागूपदार्थको कुलतमा फस्दा उनमा मानसिक समस्या समेत बढ्यो। अनि उनी दुबइमा आफ्नै फ्ल्याटमा भूमिगत बसेर मानसिक समस्या र कुलतसँग लडे। अन्तमा सात वर्षमा उनकै जीत भयो। र उनी पुन साङ्गीतिक बजारमा फर्किए।
उनीबारे डकुमेन्ट्री बन्यो 'यो यो हनी सिंह: फेमस' जुन नेटफ्लिक्समा रिलिज भयो। डकुमेन्ट्रीमा उनले आफू कसरी कुलतमा फसेको, श्रीमतीसँगको सम्बन्ध कसरी बिग्रियो, कसरी संघर्ष गरेर उनी पुन साङ्गीतिक यात्रामा फर्किए सबै खुलाएका छन्।
हनी सिंहको अनुपस्थितिमा बादशाह र रफ्तार जमे भारतीय र्यापमा। हनीको अनुपस्थितिको राम्रै फाइदा भयो दुबैलाई। हनी गायब, जताततै बादशाह र रफ्तार। यी दुबैबीच दुस्मनीका कथाहरू पनि सार्वजनिक भए।
दुस्मनीको सूचीमा रफ्तार पनि मिसिए। यी दुवै मिलेर हनी सिंहलाई खुब डिस हाने, उडाए गीतबाट। जुन क्रम अझैँ जारी छ।
एकाएक बदलिए हनी
पहिला निकै हिंस्रक देखिन्थे हनी सिंह। अहिले प्राय अन्तर्वार्ताहरूमा उनी निकै शान्त देखिन्छन्। आफू नै सर्वेसर्वा ठान्ने उनी अहिले भगवानमा विश्वास गर्ने भएका छन्।
उनको गायन शैली बदलिएको छ। हिजोका दिनमा उनले हिट गीत दिने चक्करमा अश्लील र महिला हिंसा बढाउनेखालका शब्द भएका गीत पनि गाए। तर अब त्यस्ता गीत आफ्नो प्राथमिकतामा नभएको उनले दाबी गरिरहेका छन्।
जब उनी फर्किए उनको धार भुत्ते भइसकेको भन्दै विश्लेषणहरू भइरहेका नै छन्। उनीसँगै मिलेर काम गरेका बादशाह लगायत गायकहरूले उनलाई सार्वजनिक मञ्चमै उडाएका थिए। तर उनले सार्वजनिक गरेका गीत एकपछि अर्को हिट भइरहेको छ। उनी आफ्नो कालो विगत लुकाउँदैनन्। निस्फिक्री सार्वजनिक गर्छन्।
भन्छन् ‘म पहिला सैतान समान थिएँ। लागुऔषध र महिलाका लागि मैले आफूले आफैँलाई बरबाद बनाएँ।’
६ महिना अगाडि उनको स्वरमा मिलिनियर बोलको गीत रिलिज भयो। टी सिरिजमै रिलिज भएको गीतसँगै उनी म्युजिक क्षेत्रमा कमब्याक त भए तर पुरानो क्रेज फर्काउन सकेनन्। मिश्रित प्रतिक्रिया आयो। हनी सिंह फर्किए तर धाररहित भएर भनेर आलोचनाहरू पनि भए।
तीन महिना अगाडि दोस्रो एल्बम ग्लोरीका गीतहरू ल्याए। त्यसमा समावेश पायल बोलको गीतले हङ्गामा मच्चायो। पायल बोलको गीतमा उनले र्यापर प्याराडक्सको र्याप हालेका थिए। तीन महिनामा उनको यो गीतको म्युजिक भिडियो ३५ करोड पटक हेरिसकिएको छ।
नोरा फतेहको डान्समुभले पनि दर्शकहरू कायल भएका थिए। जब पायल गीत चल्यो प्याराडक्सको हाइप पनि बढ्यो। यो गीतमा आफ्नो र्याप कसरी रह्यो भनेर उनले जुन घटना बताए त्यसले हनी सिंहको इमेजलाई निकै उचाइमा पूर्यायो।
तीन महिनापछि उनले ग्लोरी एल्बमको ‘मोनियक’ ल्याए जसको धमाका जारी छ। यहीबीच बुधवार हनी सिंहको र्याप भएको लियो ग्रेवालको सपिङ लिस्ट बोलको गीत रिलिज भयो जुन एकै दिनमा एक करोड पटक हेरिसकिएको छ।
फागुन २९, २०८१ बिहीबार २१:१२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।