भूकम्पको डरले नेपोलीवासीले सडक र कारमा रात बिताए

एजेन्सी : भूकम्पले घरहरूमा क्षति पूर्याएपछि इटालीको नेपोली शहर र त्यसको वरिपरिका धेरै स्थानीयले सडक र आफ्नो कारमा रात बिताए।
इटालीका भूकम्पशास्त्रीहरूका अनुसार, बिहीबार बिहान स्थानीय समय अनुसार ०१:२५ (जीएमटी अनुसार ००:२५) मा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। यसको केन्द्रबिन्दु पोज्जुओली र बाग्नोली बिचको तटीय क्षेत्रमा ३ किलोमिटर (दुई माइल) को उथलो गहिराइ रहेको बताइएको छ।
भूकम्पको धक्का नेपोलीभरि महसुस गरिएको थियो। प्रभावले शहरका केही भागमा बिजुली आपूर्ति समेच अवरुद्ध भएको थियो। इटालीको ज्वालामुखी संस्थान (आईएनजीभी) ले नजिकैको माउन्ट भेसुभियस ज्वालामुखीको विस्फोट हुने प्रमाण नभएको बताएको छ।
भूकम्पको केन्द्र नजिकै रहेको बाग्नोलीमा, एक महिला भत्किएको घरको भग्नावशेषमा पुरिएकी थिइन्। उनी सामान्य घाइते भइन्। उनको सकुशल उद्धार भयो।
नेपोली क्याम्पी फ्लेग्रेई नामक ज्वालामुखी बेसिनमा अवस्थित छ, जसले दक्षिणी इटालीको क्षेत्रलाई भूकम्प जाने सम्भावना बढाउँछ। बिहीबारको भूकम्प क्याम्पानिया क्षेत्रका विभिन्न ठाउँहरूमा महसुस गरिएको थियो।
भूकम्पको तीव्रता मे २०२४ मा गएको भूकम्प जतिकै ठूलो थियो, र यो क्याम्पी फ्लेग्रेई (फ्लेग्रिअन फिल्ड्स) मा ४० वर्षयताकै सबैभन्दा ठूलो थियो।
भूकम्पपछि पनि छ वटासम्म परकम्पहरू आएका थिए। अझै बढी भूकम्प जाने डरले स्थानीयवासी घर छोडेर सडकमै बसेका छन्। स्थानीय चर्चको घण्टाघर क्षतिग्रस्त भएको थियो र धेरै कारहरूको अगाडिको सिसा फुटेको थियो।
पोज्जुओलीमा, एक स्थानीयले इटालियन टेलिभिजनलाई विगत दुई वर्षमा आएका भूकम्प भन्दा बिहीबारको भूकम्प फरक प्रकृतिको भएको बताएका छन्।
प्रधानमन्त्री जोर्जिया मेलोनीले स्थितिलाई निरन्तर अनुगमन गरिरहेको र सहकर्मीहरूसँग जानकारी लिइरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
भवनको अवस्था जाँच गर्न बिहीबार विद्यालय बन्द गरिए। दसौँ हजार वर्ष अघि ज्वालामुखी विस्फोट भएपछि बनेको मानिने यो ज्वालामुखी बेसिनमा ८ लाखभन्दा बढी मानिसहरू बसोबास गर्छन्।
फागुन २९, २०८१ बिहीबार १८:५४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।