ठूल्ठूला भ्रष्टाचारको काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउन महामन्त्री थापाको प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला–ठूला भ्रष्टाचारको काण्डको उच्चतस्तरीय छानबिन समिति बनाएर छानबिन गर्न प्रस्ताव गरेका छन्।
नवलपरासीको एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले सरकारका अड्डा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका ठूला ठूला भ्रष्टाचारका काण्डको छानबिनमा चित्त नबुझिरहेको सन्दर्भमा उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्न प्रस्ताव गरेका हुन्।
‘नेपालमा भएका ठूला-ठूला भ्रष्टाचारको काण्डको छानबिन सरकार र अख्यितारले गरेको चित्त बुझ्दैन भने संसदबाट एउटा उच्च स्तरको संसदीय छानविन समिति बनाएर गरौँ। कुनै पूर्वन्यायाधीश वा प्रधानन्यायाधीश खोजेर ल्याउने भए पनि ल्याऊँ। आयोग बनाउने भए पनि बनाऔं।’
त्यसरी छानबिन गर्दा देखिएको दोषीलाई पाता कसेर लैजानुपर्ने समेत उनले बताए। जनता अहिलेको व्यवस्थाबाट नभई यहाँका भ्रष्ट नेता र कर्मचारीबाट आजित भएको बताउँदै उनले खराबहरूले दण्ड पाउन थालेसँगै जनतामा पनि आशा पलाउने बताए।
उनले थपे, ‘जुन व्यवस्थामा खराब काम गर्नेहरूले दण्ड पाउँछ, त्यो व्यवस्था नै उत्तम व्यवस्था हो।’
सोही प्रसङ्गमा महामन्त्री थापाले हरेक क्षेत्रमा नराम्रा काम गर्ने मानिस हुने भन्दै हरेक नेताको जिम्मा पार्टीले नलिने स्पष्ट पार्दै सार्वजनिक पदमा रहेका नेताको सम्पत्ति पनि छानबिन गर्न प्रस्ताव गर्नुपर्ने प्रस्ताव गरे।
फागुन २९, २०८१ बिहीबार ११:२२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।