फागु पूर्णिमाको दिन विहानैदेखि ट्राफिक प्रहरीको कडा जाँच (तस्बिरहरू)

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले जाँचलाई कडाइ गरेको छ।
फागु पूर्णिमाको दिनमा सवारी चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै विहानैदेखि काठमाडौंका विभिन्न स्थानमा जाँचलाई कडा पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतका अनुसार ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा आज सामान्य दिनमा भन्दा बढी प्रहरी परिचालन गरिएको छ। विभिन्न स्थानमा ब्यारिकेट लगाएर ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) तथा कागजात परीक्षण गरिरहेको छ।
यसका अलावा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हुने कार्यक्रमका लागि पनि ट्राफिक प्रहरीले डाइभर्सन गरेको एसपी राउतले बताए।
राउतका अनुसार उपत्यकाका ७५ ठाउँमा चेकपोस्ट खडा गरी चेकिङ भइरहेको छ। मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी चलाएका सवारी साधन होल्ड र चालकलाई प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिइएको छ।
फागुन २९, २०८१ बिहीबार ०९:३६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।