नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिकोलाई हराउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिकोलाई हराउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी : नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ।

घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरू भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो।

तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल गर्न सकेनन्। जसका कारण निर्णयका लागि खेल पेनाल्टी सुटआउट गयो।

सुरूवाती तीन पेनाल्टी सफल भयो। त्यसपछि पूर्व म्यानचेस्टर सिटी फरवार्ड जुलियन अल्भारेजले एटलेटिकोको दोस्रो पेनाल्टी लिन गए।

तर, उनी बल प्रहार गर्दा चिप्लिए। जसले गर्दा बल गोल भयो। तर उनले दुई पटक बल छोएको हुनाले भिएआर रिभ्यु पछि उनको गोल रद्द गरियो।

फेडे भाल्भेर्डेले पेनाल्टी गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए। त्यसपछि, एट्लेटिकोका गोलकिपर यान ओब्लाकले लुकास भास्क्वेजको पेनाल्टी बचाउँदै टोलीलाई आशा दिलाए। तर, मार्कोस ल्लोरेन्टेले पेनाल्टी बारमा ठोक्कियो।

अन्तमा एन्टोनियो रुडिगरले निर्णायक पेनाल्टी स्कोर गर्दै रियललाई अर्को चरणमा पुर्याए। रियलले अन्तिम आठमा आर्सनलको सामना गर्नेछ।‌

फागुन २९, २०८१ बिहीबार ०७:३९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।