सेन्सर पास नगरी ‘राजागंज’को प्रिमियर, प्रधानमन्त्री ओलीको दृश्य काटेको फिल्म हलमा

काठमाडौं : फिल्म ‘राजागंज’को बुधबार हुने भनिएको प्रिमियर केन्द्रीय जाँचपास समितिले अनुमति नदिँदा दिउँसोसम्म अन्योलमा देखिन्थ्यो।
बुधबार नै निर्माण पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो क्लिप हटाएपछि सेन्सर बोर्डले प्रदर्शनका लागि अनुमति दियो। युनिभर्सल सर्टिफिकेट बोकेर आयो निर्माण टिम। तर, प्रिमियरमा भने सेन्सर पास नभएको फिल्म देखायो ओलीको क्लिप सहितको।
उकेराकर्मीले निर्देशक दीपक रौनियारलाई कुन कुन दृश्य हटाइएको हो भन्ने प्रश्न गर्दा उनले प्रधानमन्त्री भन्ने शब्ददेखि केपी शर्मा ओलीको भिडियो क्लिप हटाएको बताए।
तर, फिल्ममा त देखियो नि भन्ने प्रश्नमा उनले प्रिमियरमा सेन्सर नभएको फिल्म नै देखाएको र हलमा लाग्दा सेन्सर भएको फिल्म प्रदर्शन हुने बताए।
उनले उकेरासँग भने, ‘सेन्सरमा थुप्रै कुराहरू काटिएको छ। केपी शर्मा ओलीको पूरै भाषण निकालिएको छ। प्रधानमन्त्री भन्ने शब्द प्रयोग गर्न दिएको छैन। गोरो भन्ने शब्द प्रयोग गर्न पाइँदैन रे फिल्ममा। हिन्दी भाषामा अर्को सब टाइटल गर्नुपर्ने खालका कुराहरू रहेका छन्। यो कुरा हटाएपछि सेन्सर पास भएको हो।’
यो यस वर्षको भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको थियो। फिल्ममा आशा मगराती,दयाहाङ राई, विजय बराल,निकिता चाण्डक,पशुपति राई लगायतका कलाकारहरूले अभिनय गरेका छन्। चैत १ मा रिलिज हुने फिल्मले हलमा सबैभन्दा कम शो पाएको छ।
फागुन २९ मा एकै दिन दुई फिल्म अन्जिला र आउट ल दफा २१९ रिलिज हुँदै छन्। हलमा यो साता नयाँ तीन फिल्मले प्रतिस्पर्धा गर्ने छन्। होस्टल थ्रीदेखि लाज शरणम्सम्म हलमै छन्।
फागुन २९, २०८१ बिहीबार ०२:२९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।