निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. रेग्मी

निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. रेग्मी

काठमाडौं : निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन्।

मुख्य सचिव अध्यक्ष रहेको निजामती कर्मचारी अस्पताल विकास समितिले डा. रेग्मीलाई चार वर्षका लागि अस्पतालको कार्यकारी निर्देशकमा नियुक्ति निर्णय गरेको विकास समितिका एक सदस्यले उकेरालाई जानकारी दिए। उनका अनुसार बुधवार नियुक्तिको निर्णय भएको हो।

कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन परेको थियो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन २५ मा सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि डा. प्रमोद कुमार यादव, डा. रुद्र प्रसाद मरासिनी, प्रा. डा. मोहनचन्द्र रेग्मीको नाम सिफारिस गरेको थियो।

सिफारिस भएका तीनमध्ये दसौँ तहका डा. यादव वीर अस्पताल र एघारौँ तहका डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्। डा. रेग्मी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थिए। उनी हाल काजमा निजामती कर्मचारी अस्पतालमा छन्।

निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७ को विनियम १८ (१) मा ‘सिफारिस समितिले विनियम १७ बमोजिम अन्तिम अङ्क गणना गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीन जना उम्मेदवारको नाम कार्यकारी निर्देशकको नियुक्तिका लागि योग्यताक्रमको आधारमा समिति समक्ष सिफारिस गर्ने प्रावधान छ।

सो प्रावधान अनुसार यी तीन चिकित्सकको नाम सिफारिस भएका थिए। जसमध्ये डा. रेग्मी कार्यकारी निर्देशकमा नियुक्त भए।

फागुन २८, २०८१ बुधबार २०:५७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।