ज्ञानेन्द्र, गणतन्त्र विदेशी अजेण्डा हो भने ८४ को चुनावमा आऊ न त, कि वार कि पार

एउटा प्रचलित भनाइ छ ‘आफ्नो बुद्धिले जोगी बन्नु तर,अरूको बुद्धिले राजा नबन्नु’। यो उक्तिले कसैलाई प्रतिनिधित्व गर्छ भने त्यो पूर्व राजा ज्ञानेन्द्र शाह नै हुन्। अनि हिजो राप्रपा, राप्रपा नेपाल लगायतकाले गरेको र्यालीले सबैभन्दा दङ्ग कोही छन् भने ती ज्ञानेन्द्र शाह नै हुन!
विगतको पृष्ठभूमिले देखाउँछ बेलाबेला सनक र उन्माद दुवै सवार हुन्छ ज्ञानेन्द्रमा , २०६१ मा उनको सनकले देशमा उथलपुथल भएको जगजाहेर हुँदाहुँदै पनि उनमा फेरि राज सिंहासनमा बस्ने सनक चढेको छ। त्यसका लागि उनी राजाकै शैलीमा परेडमा सहभागी भए सडकमा निस्किए।
तर,उनी र उनका समर्थकले बिर्सिए, सङ्घीय गणतन्त्र नेपालको संविधान अनुसार पूर्व राजा आम नागरिक समान हुन्। र त्यो हैसियतमा उनलाई पुर्याउने मुख्य फ्याक्टर उनी आफै हुन्। यो उनैले घुँडा टेकेर स्विकारेको तथ्य हो।
गत वर्ष पनि फागुनमा राप्रपाले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य, प्रदेश संरचना खारेजी लगायतका ४० सूत्रीय ज्ञापन पत्र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउँदै शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको थियो। राप्रपाले बेलाबेलामा गरिरहने नाटकै हो यो
त्यही दोहोरिएको हो फागुन २५ मा। देशका विभिन्न धार्मिक स्थल घुमेर पोखराबाट काठमाडौं फर्कने सामान्य दैनिकीलाई विशेष बनाउने प्रयास गरे राजावादी र हिन्दवादीको समूहले। उनीहरूको सामाजिक सञ्जालमा उपस्थिति र तामझाम हेर्दा निर्मल निवास हैन कि सिधै नारायणहिटी लगेर सङ्ग्रहालयमा रहेको राजमुकुट निकालेर लगाइदिन्छन् कि जस्तै भ्रम फैलिएको थियो। त्यो हास्यास्पद दृश्य देखेर मुसुक्क हाँस्नु बाहेक अर्को विकल्प थिएन।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल कसैको सनक र उक्साहटकै बलमा उखेलिने त्यति कमजोर जगमा स्थापित भएको हैन। नागरिकमा बढेको राजनीतिक चेत, दरबार हत्याकाण्डपछि दरबारप्रतिको आकर्षणको अन्त्य र यीनै ज्ञानेन्द्र शाहको अकर्मण्यता र अक्षमताले नेपाल गणतन्त्रमा प्रवेश गरेको थियो।
यसमा माओवादीको सशस्त्र सङ्घर्ष अनि दलहरूको शान्तिपूर्ण सङ्घर्ष नमिसिएको हैन। तर नेपालमा गणतन्त्रको जग बस्नुमा स्वतन्त्रताको माग राख्दै सडकमा उत्रिएका नागरिक गणतन्त्रको घोषणा नभएसम्म घर फर्कन नचाहनु मुख्य थियो। दल अनि दरबार दुवै नागरिकको अडानमा बाध्य भए। नेपालमा राजतन्त्र इतिहास भयो।
पुर्वराजाका हैसियतमा ज्ञानेन्द्रले यो १७ वर्ष विभिन्न ठाउँमा हुने धार्मिकदेखि राजतन्त्रवादीहरूको कार्यक्रममा सहभागी भएर समय बिताए। उनले यो बिचमा दलीय कमजोरीमा खेल्ने प्रयास नगरेका हैनन्।
उनले गत वर्ष एक कार्यक्रममा आफ्ना समर्थकले ‘राजा आऊ देश बचाउ’ भनेर लगाउने गरेको नारा लक्षित गर्दै भनेका थिए ‘म आएर देश बचाउ’ भन्ने खालका आशय सुन्छु। म यही देश भित्रै छु, देश छाडेर कहीँ गएको छैन।’
गणतन्त्रकालमा जे जति कमजोरी देखिए त्यो व्यवस्थाको कमजोरी थिएन, हैन। त्यो दल अनि ती दलका नेताका कमजोरी थिए र हुन्। त्यसको जगमा दल बदलिन सक्छ, व्यवस्था हैन। तर ज्ञानेन्द्र पटक-पटक व्यवस्था बदल्ने प्रयासमा लागेका छन्। जुन निरर्थक हुने पक्का छ।
ज्ञानेन्द्र ती पात्र हैनन् जसले देश र जनताको हित गर्दागर्दै जालझेलको सामना गर्नुपर्यो। अकल्पनीय दुर्घटनाका कारण उनलाई राजगद्दी आइलाग्यो। र उनकै सन्काहापन, नागरिकमा रहेको आफ्नो छविको ख्यालै नगरी आफ्नो बाबु महेन्द्र बन्ने लालसाले उनी गलहत्याइएका हुन्।
उनी ती पात्र हुन् जो गद्दीमा आए लगत्तै संवैधानिक राजाको साटो सक्रिय निरङ्कुश शासक बने। माओवादी विद्रोह विरुद्ध सेना परिचालन गर्ने प्रधानमन्त्रीको प्रयासमा हस्तक्षेप गरे। अनि संसदबाट निर्वाचित प्रधानमन्त्रीलाई अक्षम भन्दै अपदस्त गरे।
नागरिक स्वतन्त्रता हनन गरे। मोबाइल, टेलिफोन बन्द गराए। रेडियो, टेलिभिजन स्टेसन अनि मिडियाको कार्यालयमा सेना खटाएर तर्साए। जनतामा निहित सार्वभौमसत्ताको अपहरण गरे।
अनि आफ्नै अकर्मण्यता र अदूरदर्शीताका कारण अक्षम साबित भएर नारायणहिटीबाट हट्न बाध्य भए।
गणतन्त्र केही दल अनि विदेशीको षड्यन्त्रमा आएको दाबी खुब चर्किएको छ अहिले। जनताको इच्छा विपरीत नेपालमा गणतन्त्रको घोषणा भएको भए नागरिक सडकमा उत्रिने थिए, ज्ञानेन्द्रले नारायणहिटीमा अन्तिम सम्बोधन गरेर बाहिरिने तयारी गरेपछि नारायणहिटी अगाडि लाखौँ नागरिक पर्खाल भएर उभिने थिए। उनलाई नारायणहिटीभित्रै राख्ने थिए।
तर जब गणतन्त्रको घोषणा भयो, जब उनले १५ मिनेट लामो भाषण गरेर बाहिरिने तयारी गरे त्यो बेलामा नागरिक खुसी भएर ताली बजाएका थिए।
गणतन्त्र नेपाल स्थापित पछिका डेढ दशक हेर्दा भलै अपेक्षित परिणाम आउन सकेको छैन। दलका नेताको व्यवहार आलोचनायोग्य छ।
तर, नागरिक स्वतन्त्रता, मानव अधिकार कायम भएको छ। शिक्षा, स्वास्थ्य, यातायात सुविधा, खानेपानी, बिजुली, सञ्चार लगायतका आधारभूत आवश्यकताको पक्षमा उल्लेखनीय सुधार भएको छ।
राष्ट्रिय महत्वका ठुला आयोजना-परियोजनाहरु निर्माणाधीन छन्। सडक सञ्जालले गाउँलाई शहरसँग जोडेको छ। हिजो सिंहदरबार र दरबार धाउनुपर्ने सुविधा स्थानीय सरकारमार्फत ढोकैमा पुगेको छ।
जातीय, वर्गीय, क्षेत्रीय असमानता धेरै हदसम्म घटेका छन्। महिला, दलित, जनजाति, पिछडिएको वर्गको राज्यमा पहुँच र प्रतिनिधित्वको सङ्ख्या बढेको छ। ज्ञानेन्द्रले गद्दी छाड्दा विश्वको दोस्रो गरिब राष्ट्रको सूचीमा रहेको नेपाल अहिले विकाशोन्मुक देशमा पर्छ।
संविधानसभाले जारी गरेको २०७२ को संविधानमा गणतन्त्रलाई अ-परिवर्तनीय व्यवस्था भनिएको छैन। दुई तिहाइ मतद्वारा यसलाई कुनै पनि बेला संशोधन गर्न सकिने संवैधानिक व्यवस्था नि छ।
यतिको उदार संविधान छ। हिजो जनमतबाट अनुमोदित गणतन्त्र भोलीका दिनमा जनमतबाटै बदलिन सक्छ। यतिको उदारता हुँदाहुँदै राजतन्त्र समर्थक रोड शोको बलमा व्यवस्था बदल्ने प्रयासमा लागेका छन्।
अहिले पनि संवैधानिक राजतन्त्रको माग गर्ने दल प्रतिनिधिसभामा छ नै। प्रतिनिधि सभाको २ सय ६५ सिट मध्ये १४ अर्थात् मुस्किलले ५% जनमत राजतन्त्रको पक्षधर दलले पाएका पनि छन्। उनीहरूले गणतन्त्र विदेशी अजेन्डामा आएको भनेर जुन दाबी गर्ने गर्छन् यदि त्यो सत्य हुन्थ्यो भने राप्रपा ५ प्रतिशतमा हैन ७५% मा पुगिहाल्थ्यो। मतदान त विदेशीले गर्ने हैन त!
२१ औँ शताब्दीको चेतनाको युगमा वंशका आधारमा शासन सत्ता आफैँमा अवैज्ञानिक हो नै। नागरिकबाट यो अनुमोदन हुन सम्भव छैन। लोकतन्त्रको विकल्प उदार लोकतन्त्र मात्रै हो, राजतन्त्र हैन। हुन सक्दैन।
व्यवस्था बदल्ने हो भने ब्यालेटबाट अनुमोदन भए, आए सम्भव छ। विमानस्थलको गोल्डेनगेटदेखि महाराजगन्जको निर्मल निवाससम्म चलाएको रमिताले व्यवस्था बदल्न सम्भव छैन।
गणतन्त्र विदेशी अजेण्डामा आएको अनि नागरिक अझैँ राजतन्त्रको पक्षमा छन् भन्ने आत्मविश्वास भए, ज्ञानेन्द्रले २०८४ को निर्वाचनमा मैदानमा उत्रिने हिम्मत गरे हुन्छ।
नागरिकको जनमतले अनुमोदित व्यवस्था, जनमतबाटै बदले भयो त। कि वार कि पार।
फागुन २८, २०८१ बुधबार १९:१४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।