डा. बाराकोटीले महानिर्देशकको नियुक्ति पत्रै पाएका छैनन्, विभाग र मिडियाले नियुक्ति गरिसक्यो

डा. बाराकोटीले महानिर्देशकको नियुक्ति पत्रै पाएका छैनन्, विभाग र मिडियाले नियुक्ति गरिसक्यो

काठमाडौं : एक हप्ता अगाडिसम्म स्वास्थ्य सचिवको प्रतिस्पर्धामा रहेका डा. टङ्कप्रसाद बाराकोटी मङ्गलवारबाट एकाएक स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त भएको समाचारहरू बाहिरिए। केही सञ्चारमाध्यमहरूले स्रोतको हवालादिँदै समाचार पनि लेखे।

हुँदाहुँदा बुधवार स्वास्थ्य सेवा विभागको वेभ साइटमा बाराकोटीको तस्बिर महानिर्देशकको रूपमा सार्वजनिक भयो। तर उनले बुधवार सरकारी समय घर्किसक्दा पनि नियुक्तिको पत्र भने पाएका छैनन्।

विभागले नै उनको तस्बिर महानिर्देशकको रूपमा राखेपछि बुधवार साढे पाँच बजे उकेराकर्मीले बाराकोटीसँग सम्पर्क गर्दा उनले भने ‘पत्र पाएको छैन।’

विभागको महानिर्देशकको जिम्मेवारी दिने अधिकार स्वास्थ्यमन्त्रीमा रहन्छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधवार साढे पाँच बजेसम्म उनलाई पत्र दिएका छैनन्। १२ औँ तहका बाराकोटीको दरबन्दी अहिले मन्त्रालयमै छ।

विभागको महानिर्देशक नियुक्तिबारे मंगलबार उकेराले मन्त्री पौडेलसँग जिज्ञासा राख्दा उनले भनेका थिए ' निर्णय भइसक्या छैन।' 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन्। मन्त्रालयको सचिवालय स्रोतले बाराकोटीलाई नियुक्तिको पत्र नदिएको जानकारी दियो।

एक साता अघिसम्म बाराकोटीसहित डा. सङ्गीता कौशल मिश्रा र डा. विकास देवकोटा स्वास्थ्य सचिवको प्रतिस्पर्धामा थिए। यी तीनै जना १२ औँ तहका अतिरिक्त सचिवमध्ये डा. देवकोटालाई गत बुधवारको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवमा नियुक्त गर्यो।

सचिवमा नियुक्त हुनु अगाडि डा. देवकोटा विभागको महानिर्देशक थिए। उनी सचिव भएपछि महानिर्देशक पद रिक्त भयो। एक सातादेखि सो पद रिक्तै छ। १२औँ तहको दरबन्दी भएको विभागमा डा. मिश्रा र डा. बाराकोटीमध्ये एकले जिम्मेवारी पाउने हुन्।

डा. देवकोटाअघि डा. मिश्रा विभागको महानिर्देशक थिइन्। उनलाई मन्त्री पौडेलले नै हटाएर डा. देवकोटालाई विभागको निर्देशक बनाएका थिए।

फागुन २८, २०८१ बुधबार १८:१३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।