सरकारका प्रतिनिधि नै उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं : सरकारका प्रतिनिधि मन्त्रीहरू नै उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बुधबारको प्रतिनिधि सभा बैठक प्रारम्भ भएको जानकारी सभामुख देवराज घिमिरेले गराएलगत्तै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्री उपस्थित नभएको जानकारी दिँदै बैठक चल्न नसक्ने बताएका थिए।
‘सदन सुरू हुँदासमेत बैठकमा कुनै पनि मन्त्री छैनन्। हामी समितिहरूमा, उपसमितिहरूमा प्रतिपक्षी दल उपस्थित हुन्छौँ तर सरकार उपस्थित हुँदैन। नियमावलीअनुसार यो बैठक चल्दैन, बन्द गरियोस्।’
लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भएकाले बैठक १५ मिनेटपछि बस्नेगरी सथगित भएको घोषणा गरे।
अहिले भने मन्त्री आएसँगै बैठक नियमित सञ्चालन भइसकेको छ।
फागुन २८, २०८१ बुधबार १२:२४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।