तामझामविना पनि फिल्मको प्रिमियर त हुँदो रहेछ त मिलनजी!

काठमाडौं : निर्माता तथा निर्देशक मिलन चाम्स नेपाली फिल्ममा बढी तामझाम रुचाउने व्यक्ति हुन्। उनको फिल्मको प्रिमियर भन्नेवित्तिकै सिनेकर्मी उत्साहित हुन्थे। उनका अधिकांश फिल्मको ग्राण्ड प्रिमियर बाजागाजाको धुन सहित विवाह समारोह भन्दा भव्य हुने गर्थ्यो।
एक वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘गोर्खा वारियर’को बिग मुभिजमा भव्य कार्यक्रमको आयोजना गरे। कलाकारहरू को उपस्थितिले सिटी सेन्टरको ग्राउण्ड फ्लोरदेखि हलसम्ममा मान्छेहरू भरिभराउ थिए। हलमा पनि उत्तिकै गजबको र वैवाहिक झल्को दिने माहोल।
त्यति मात्र होइन, तीन महिनाअघि मिलनले नै निर्देशन गरेको फिल्म ‘वर एण्ड वधु’को पनि भव्य प्रिमियर भयो। ललितपुरको लविम मलमा अवस्थित क्युएफएक्समा फिल्मको ग्रान्ड प्रिमियर भयो। प्रचारमा खासै ध्यान नदिए पनि मिलनको फिल्मले प्रिमियर भव्य नै हुने गरेको छ।
तर, बिहीबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अञ्जिला’को प्रिमियरमा भने फरक दृश्य देखियो। सोमबार लविम मलको हलमा भएको प्रिमियर सामान्य देखिन्थ्यो। प्रिमियरमा डाकिएका फिल्मकर्मी त्यहाँको माहोल देखेर छक्का परे।
प्रिमियरमा पुगेका अधिकांशको मुखबाट ‘लौ प्रिमियर नै हो र? त्यो पनि मिलन चाम्सको’ भन्दै थिए।
फिल्ममा मुख्य कलाकार दयाहाङ राई, निर्देशक मिलन चाम्स, निर्माता बाहेक अरुको अनुहार देखिएन। फिल्मकी मुख्य अभिनेत्री तथा नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापो सुब्बा विदेशमा भइरहेको खेलमा सहभागी हुन गएकाले उनी अनुपस्थित रहिन्।
रेड कार्पेट मात्र बिच्छ्याइए पनि सानो साउन्ड सिस्टममा प्रिमियरअघिको कार्यक्रम सकियो। त्यसबाहेक प्रिमियरमा त्यसबाहेक अन्य तामझाम देखिएन।
प्रिमियरमा पुगेका अधिकांश मिडियाले फिल्मबारे प्रतिक्रिया लिन सेलिब्रेटी खोज्नुपर्यो। धन्न अभिनेत्री केकी अधिकारी, निर्माता छविराज ओझा, निर्देशक नवल नेपालसहित राष्ट्रिय महिला टोलीका केही खेलाडीले फिल्मबारे प्रतिक्रिया दिए।
अब प्रिमियरमा पुगेका कसले पो फिल्म नराम्रो भन्छन् र! ‘अञ्जिला’को बायोपिकले रुवाएको भन्ने कलाकार र खेलाडीको कमी भएन त्यहाँ।
फागुन २८, २०८१ बुधबार ११:११:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।