प्रधानमन्त्री ओलीले भने ‘देशलाई पछाडि हैन अगाडि बढाउने हो’

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउने दाबी गरे।
कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी र सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकताअनुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने बताए।
यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्था विरोधी आवाज उठाउन आवश्यक नभएको उनको तर्क थियो। संविधानसम्मत, शान्तिपूर्ण र सुशासनको बाटोबाट लोकतन्त्रलाई अझ उन्नत बनाउन सकिने उनले बताए।
‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ। गरिबी हटाएर मात्रै सन्तोष मान्दैनौँ। समग्र मानवीय जैविक र न्यायोचित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुपर्छ’, उनले भने, ‘नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ।’
ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन गरेर विविधताबीच एकता कायम गर्दै गौरवपूर्ण इतिहास भएको नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए।
फागुन २७, २०८१ मंगलबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।