क्यानडाको टोरन्टो पबमा गोली प्रहारबाट १२ जना घाइते, तीन सन्दिग्ध हतियारधारी अझै फरार

एजेन्सी : क्यानेडियन शहर टोरन्टोको एक पबमा भएको गोली प्रहारमा १२ जना घाइते भएका छन्। घटनामा संलग्न तीन सन्दिग्ध हतियारधारी अझै फरार छन्।
शुक्रवार स्थानीय समयानुसार राति २२:३९ बजे (शनिवार बिहान ०३:३९ GMT) पूर्वी टोरन्टोको स्कारबोरो शहर केन्द्र नजिकै गोली प्रहारको घटना भएको थियो।
अधिकारीहरूका अनुसार, छ जनालाई गोली लागेको छ र अन्य व्यक्तिहरू फुटेको काँचका कारण घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको छ।
टोरन्टो प्रहरीका अनुसार तीन पुरुष पबमा प्रवेश गरेर जथाभाबी गोली चलाएका थिए। उनीहरू आक्रमणकारी राइफल र हाते बन्दुक बोकेका थिए। उनीहरूको उद्देश्य अहिलेसम्म खुलेको छैन।
प्रहरीले संदिग्धहरूलाई फेला पार्न सबै उपलब्ध स्रोतहरू परिचालन गरिरहेको बताएको छ। प्रहरीका अनुसार, पीडितहरूको उमेर २० वर्षदेखि ५० वर्षको बिचमा रहेको छ।
फागुन २४, २०८१ शनिबार २२:५७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।