ओलीले बोलीको विरोध गर्दै एक सातापछि शिक्षक महासंघको विज्ञप्ति, भन्यो- ‘प्रधानमन्त्रीको अमर्यादित र हेपाहा अभिव्यक्ति निन्दनीय’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण शिक्षकहरूप्रति अमर्यादित टिप्पणी गरेको एक सातापछि नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।
फागुन १३ गते नेपाल मेडिकल कलेजको कार्यक्रममा ओली शिक्षकहरूविरूद्ध खनिँदै अमर्यादित टिप्पणी गरेका थिए। उनले शिक्षकहरूले कक्षाकोठामा गुणस्तरीय शिक्षा/ज्ञान दिन नसकेको भन्दै आक्रोश पोखेका थिए।
उनी यतिमा मात्र रोकिएका थिएनन्, माध्यमिक शिक्षा परीक्षा(एसइई)मा फेल हुने गरी पढाउने शिक्षकहरूको तलब बढाउन नसकिने समेत बताएका थिए।
उनले भनेका थिए, ‘यतिधेरै शिक्षकहरू छन्, अस्थायी र करारलाई स्थायी गरिदेऊ भनेको छ, तलब पुगेन बढाऊ भनेको छ, किन तलब बढाउने?, ४८ प्रतिशत पास गर्न?,५२ प्रतिशत फेल गर्न?’
प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा अभिव्यक्ति दिएको एक सातापछि संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै शिक्षक समुदायमाथि प्रधानमन्त्रीको टिप्पणी असहिष्णु र अशोभनीय भएको बताए।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट हालसालै कुनै सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै गर्दा नेपाली शिक्षक समुदाय माथि गरिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।
देशमा गुणस्तरीय शिक्षाको विकास र विद्यार्थीको भविष्यको लागि अहोरात्र खटिइरहेका शिक्षक माथि यस्तो अमर्यादित र हेपाहा अभिव्यक्ति राखिनु निन्दनीय भएको बताए।
उनको अभिव्यक्ति कडा रूपमा विरोध गर्ने अध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आगामी दिनमा नेपाली शिक्षक-कर्मचारीलाई लाञ्छित गर्ने खालका यस्ता अशोभनीय र असान्दर्भिक अभिव्यक्ति नराख्न समेत महासङ्घले चेतावनी दिएको छ।
फागुन २१, २०८१ बुधबार १३:१५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।