युरोपेली देशका नेताहरूसँग भेटेपछि जेलेन्स्कीले भने- ‘अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु तर...’

युरोपेली देशका नेताहरूसँग भेटेपछि जेलेन्स्कीले भने- ‘अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु तर...’

एजेन्सी : युरोपेली देशका नेताहरूसँगको वार्तापछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफू अमेरिकासँग खनिज सम्झौता गर्न तयार भएको बताएका छन्।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको बहसपछि युरोपबाट स्पष्ट समर्थन प्राप्त गरेका उनले आफू अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका हुन्।

जेलेन्स्कीले आफ्नो सामाजिक सञ्जाल पोस्टमा युरोपबाट केही बढी ऐक्यबद्धता र सहयोग गर्ने इच्छासहित समर्थन मिलिरहेको जानकारी गराए। तर, उनले त्यसको बदलामा अमेरिकाबाट युक्रेनको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरिरहेका छन्।

‘शान्तिका लागि सबै एकजुट छन्। हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ। यो सम्पूर्ण युरोपको माग हो,’ उनले भने, ‘स्पष्ट रूपमा हामी संयुक्त राज्य अमेरिकाको महत्त्व बुझ्छौँ र संयुक्त राज्य अमेरिकाबाट प्राप्त सबै सहयोगको लागि हामी आभारी छौँ। हामी अमेरिकाप्रति कृतज्ञ नभएको कुनै दिन नै छैन।’

यसअघि आइतबार युक्रेन युद्धको सन्दर्भमा लन्डनमा धेरै युरोपेली देशका नेताहरूको बैठक भएको थियो, जसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि उपस्थित थिए।

बीबीसीको प्रश्नको जवाफमा जेलेन्स्कीले भने, ‘म अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार छु, तर हाम्रो शर्त यो छ कि युक्रेनको अवस्था सुनिनुपर्छ।’

वास्तवमा, जेलेन्स्कीले खनिज सम्झौताको बदलामा अमेरिकाबाट युक्रेनको सुरक्षाको ग्यारेन्टी चाहन्छन्।

गत हप्ता शुक्रबार, अमेरिकी राष्ट्रपति भवनमा जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चर्को बहस भएको थियो। यस बहसमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीमाथि धेरै हमला गरे।

यो बहस पछि, धेरै युरोपेली देशहरूले खुलेर युक्रेनलाई समर्थन गरे।

फागुन १९, २०८१ सोमबार ०९:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।