डा. नेत्रको उपचार अनुभव : भारतमा समेत उपचार गराएर जीवनदेखि नै हार खाइसकेका पुरुषको फिस्टुला ठिक भएपछि...

डा. नेत्रको उपचार अनुभव : भारतमा समेत उपचार गराएर जीवनदेखि नै हार खाइसकेका पुरुषको फिस्टुला ठिक भएपछि...

काठमाडौं : शुक्रबार साढे एघार बजे काठमाडौंको नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा पुग्दा शल्य चिकित्सक डा. नेत्रबहादुर बस्नेत गाउन, मास्क, पञ्जा, स्काप जस्ता व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री लगाएको अवस्थामा थिए।

पूर्व निर्धारित समय अनुसार कुराकानीका लागि नरदेवी पुग्दा उनले उकेराकर्मीलाई ‘केही बेर पर्खनुहोस् है’ भन्दै शल्यक्रिया कक्षमा छिरे। शल्यक्रिया गरिएका बिरामीको ‘घाउ सफा (ड्रेसिङ)’ गर्नुपर्ने रहेछ।

बिरामीको उपचार गर्नुपर्ने ड्युटी सकिएपछि डा. नेत्र शल्यक्रिया कक्षबाट निस्किए। अनि उनीसँग कुराकानी सुरू भयो। कुराकानीको सुरुवातमा उनले सरकारी जागिरमा प्रवेश गरेदेखि हालसम्म कहिल्यै पनि सरकारी संस्था बाहेक अन्यत्र काम नगरेको सुनाए।

सरकारी जागिरमा प्रवेश गरेपछि उनले कहिल्यै पनि निजी क्लिनिक तथा अस्पतालमा काम गरेका छैनन्। उनलाई निजीमा काम गर्नका लागि ‘अफर’ नआएको भने होइन। तर, उनले सरकारी जागिरे भएपछि निजीमा काम गर्नुहुँदैन भन्ने ‘नैतिक’ धरातल  भुलेनन्। निजीमा काम गर्न थालेपछि पैसाको लोभ बढ्दै जाने भएकाले अहिलेसम्म पनि निजीमा काम नगरेको उनी सुनाउँछन्।

त्यसैले डा. नेत्र बिदाका दिन होस् वा अघिपछि नै किन नहोस्, प्रायः नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा नै भेटिँदा रहेछन्। उनलाई पनि थप पैसा नचाहिने हैन। तर, उनी निश्चित सरकारी तलब सुविधाबाटै नै घर परिवार चलाउँछन् अनि सन्तुष्ट हुन्छन्। घुमफिर गरेर फजुल खर्च नगरेपछि सरकारी तलब सुविधाले गुजारा धान्न खासै समस्या नहुने उनको अनुभव छ।

विभिन्न स्वास्थ्य समस्यामध्ये ‘गुदविकार’जन्य समस्यामा नै बढी केन्द्रीत भएर काम गर्नु उनको दैनिकी हो। पायल्स, फिस्टुला र फिसरजस्ता मलद्धारजन्य समस्यासँग सम्बन्धीत स्वास्थ्य समस्यालाई आयुर्वेदिक चिकित्सकीय भाषामा ‘गुदविकार’ भनिन्छ। यस्तो समस्या भएका बिरामीलाई औषधि उपचार अनि आवश्यकताअनुसार शल्यक्रिया गरी सञ्चो बनाउनु डा. नेत्रको मुख्य चिकित्सकीय दैनिकी हो।

जीवनदेखि हार खाइसकेका पुरुषको क्षारसूत्रले फिस्टुलाको समस्या ठिक भएपछि...
उपचार गरेकामध्ये एक जना पुरुषलाई उपचार गरेको प्रसङ्ग डा. नेत्र कहिल्यै भुल्दैनन्। प्रसङ्ग केही महिनाअघिको मात्रै हो। नवलपरासीतिरका करिब ३५ वर्षका पुरुष फिस्टुलाको समस्याले लामो समय पीडित भएका थिए। ती पुरुषले फिस्टुलाको उपचारका लागि धेरै पटक अस्पताल धाए। तीन पटक त शल्यक्रिया नै भएको रहेछ।

ती पुरुष उपचारका लागि नेपालमा मात्रै नभएर भारतका अस्पताल पनि पुगेका रहेछन्। तर, समस्या ठिक भएनछ। केही गरे पनि समस्या ठिक नभएपछि ‘अब उपचार नै नहुने रहेछ, जीन्दगी यतिकै रहेछ’ भनेर ती पुरुषले हार खाइसकेका थिए। फिस्टुलाको समस्याले पटक-पटक संक्रमण भएर ती पुरुषको मलद्वारबाट पिप र रगत आउँथ्यो।

फिस्टुला बनेर जमेको पिप फुटेर निस्किसकेपछि केही दिन आराम जस्तो त हुन्थ्यो। तर, फेरि समस्या उस्तैगरी दोहोरिइहाल्थ्यो। पिप जम्ने अनि फुट्ने समस्या भइरहँदा ती पुरुषको जीन कष्ठकर थियो।

रोगको पीडाले हार खाइसकेका ती पुरुषलाई एक जना आयुर्वेद चिकित्सकले नै एक पटक काठमाडौंमा डा. नेत्रलाई भेट्न सल्लाह दिएछन्। त्यसपछि ती पुरुष ‘भइहाल्छ कि!’ भन्ने झिनो आशा बोकेर नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा पुगे।

ती पुरुषको स्वास्थ्य अवस्था हेरेर स्वास्थ्य परीक्षण गर्दा फिस्टुलाको समस्या रहेको र लामो समयदेखि थलिएको डा. नेत्रलाई थाहा भयो। सबै परीक्षणपछि डा. नेत्रले ती पुरुषलाई उपचारपछि समस्या ठिक हुने भएकाले नआत्तिन आग्रह गर्दै भर्ना गरेर उपचार प्रक्रिया थाले।

डा. नेत्रले ती पुरुषको फिस्टुलाको उपचारका लागि क्षारसूत्र विधि नै अपनाए। क्षारसूत्र भनेको एक किसिमको आयुर्वेदिक औषधियुक्त (मेडिकेटेड) धागो हो। त्यही आयुर्वेदिक औषधियुक्त धागोको सहायताले उपचार गरिन्छ। ती पुरुषको फिस्टुलाको उपचारका लागि शल्यक्रिया गरियो। अनि आवश्यक औषधि उपचार गरियो।

नभन्दै जीन्दगीदेखि नै हार खाइसकेका ती पुरुषको स्वास्थ्य समस्या औषधि उपचारपछि ठिक हुँदै गयो। आयुर्वेदको शल्यचिकित्सा पद्दतीको क्षारसूत्रीय उपचारात्मक विधि अपनाएर उपचार थालेको करिब अढाई महिनापछि ती पुरुष ठिक भएर नरदेवीस्थित आयुर्वेद चिकित्सालयबाट डिस्चार्ज भए। करिब तीन महिनाको औषधि उपचारपछि त ती पुरुषको फिस्टुलाको समस्या पूर्ण रूपमा नै ठिक भयो।

जटिल बनिसकेको त्यो समस्या ठिक गरिदिने चिकित्सकको टिमप्रति कृतज्ञ हुँदै ती पुरुष घर फर्के। केही दिन अघिमात्रै पनि ती पुरुषले डा. नेत्रलाई भेटेका थिए। ती पुरुषको समस्या अहिले पूर्ण रूपमा ठिक भएको उनले सुनाए। त्यसरी जीवनदेखि नै हार खाइसकेका ती पुरुषको फिस्टुलाको त्यो समस्या ठिक भएपछि डा. नेत्रलाई पनि आनन्द नलाग्ने कुरै भएन।

ती ३५ वर्षका पुरुष मात्रै हैन पायल्स, फिसर, फिस्टुलालगायतको मलद्धारजन्य समस्या भएर दुःख पाएका धेरै बिरामीहरु दैनिकजस्तो अस्पतालमा पुग्ने गरेको डा. नेत्रले सुनाए।

फिस्टुलामा क्षारसूत्र विधि बढी प्रभावकारी
डा. नेत्र बिरामीलाई स्वास्थ्य समस्याको प्रकृतिअनुसार आयुर्वेदिक विधि अपनाई औषधि उपचार त गर्छन् नै, आवश्यकताअनुसार आयुर्वेदिक विधि अनुसारको शल्य चिकित्सा विधि पनि अपनाउँछन्।

डा. नेत्र विशेषगरी मलद्वारसँग सम्बन्धित समस्या भएका बिरामीको औषधि उपचार तथा शल्यक्रियामा नै बढी केन्द्रित हुन्छन्। हुन त उपचार गरेकामध्ये सबै बिरामी ठिक हुन्छन् भन्ने हुँदैन। तर, पायल्स, फिसर र फिस्टुलाजस्ता मलद्वारजन्य समस्याको उपचारका लागि आयुर्वेदको शल्य चिकित्साको ‘क्षारकर्म र क्षारसूत्र’ विधि निक्कै प्रभावकारी रहेको उनले सुनाए।

मलद्वारजन्य समस्या भएका बिरामीको क्षारसूत्र विधि अपनाई शल्यक्रिया गरेर बिरामीलाई सञ्चो बनाउन सकिने डा. नेत्रको अनुभव छ। पछिल्लो तीन वर्षको अवधिमा मात्रै पायल्स, फिस्टुला तथा फिसरजस्ता समस्या भएका १७ सय भन्दा बढी बिरामीको क्षारसूत्र विधि अपनाई शल्यक्रिया गरेर सञ्चो बनाएका छन् उनले।

पायल्स, फिसर र फिस्टुलाजस्ता मलद्वारजन्य समस्यामध्ये सबैभन्दा बढी फिस्टुलाको समस्याले दुःख पाएर उनीकहाँ बिरामी पुग्छन्।

पायल्सको समस्या हुँदा मलद्वारमा मासुको डल्ला निस्कन्छ। फिसर भनेको मलद्वारमा हुने घाउ हो भने फिस्टुला भनेको चाहिँ मलद्वारमा हुने घाउका कारण सुरुङजस्तो प्वाल बन्नु हो। यी तीनै समस्या फरक हुन्। यी तीन मध्ये पनि फिस्टुलाको उपचारका लागि क्षारसूत्र आयुर्वेदिक चिकित्सकीय विधि असाध्यै प्रभावकारी रहेको डा. नेत्रको अनुभव छ।

सुश्रुत संहितामा उल्लेख भए अनुसारका २६ किसिमका जडीबुटीमध्येबाटै आवश्यक प्रक्रिया अपनाई क्षार तथा क्षारसूत्रको निर्माण गरिने उनले सुनाए। तर, कुनै पनि चिकित्सा विधा पूर्ण छैन भन्ने विषयमा भने उनी सचेत छन्।

त्यसैले आयुर्वेद चिकित्सकीय विधि अपनाउँदा ठिक नहुने किसिमका रोगको उपचारका लागि भने उनी आधुनिक चिकित्सा लगायतको उपचार विधिका लागि बिरामी रिफर गर्छन्।

आयुर्वेदको डाक्टर बन्ने रहर
नेत्र २०३७ मा मोरङको हालको रतुवामाई नगरपालिका वडा नम्बर-८ दाम्राभिट्टामा जन्मिएका हुन्। उनले ६ कक्षासम्म स्थानीय दुर्गा प्राथमिक विद्यालयमा पढे। त्यसपछि घरबाट करिब एक घण्टा हिँडेर पुगिने ‘इटहरा सरस्वती मावि’मा पढे। नेत्रले त्यहीँबाट २०५२ मा एसएलसी गरे।

अध्ययनमा अब्बल उनले प्रथम श्रेणीमा सएलसी गरेनन् मात्रै विद्यालयमा नै उनी सर्वोत्कृष्ट भए। त्यसपछि उनले धरानको ‘भारबी साइन्स एकेडेमी’बाट प्लस टु गरे।

प्लसटु पछि नेत्र थप अध्ययनका लागि काठमाडौं आए। छोरा आयुर्वेदको डाक्टर बनोस् भन्ने उनका बुवाको इच्छा थियो। बुवाको इच्छा अनुसार नै उनले आयुर्वेदिक डाक्टरी विषय पढ्ने निर्णय गरे। नेत्रले आयुर्वेदतर्फकै डाक्टरी विषय अध्ययनका लागि तयारी गरे।

प्लस टुपछि नेत्र त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘आयुर्वेद क्याम्पस’मा २०५६मा आयुर्वेदिक चिकित्सा विषय ‘ब्याचलर्स अफ आयुर्वेद मेडिसिन एण्ड सर्जरी(बीएएमएस)’ अध्ययनका लागि भर्ना भए। उनले २०६२ मा बीएएमएस अध्ययन पूरा गरे। उनले बीएएमएस सरकारी छात्रवृति कोटामा नै अध्ययन गरेका हुन्।

बीएएमएस अध्ययनपछि डा. नेत्रले रौतहटस्थित ‘उत्तम धन्वन्तरि आयुर्वेद कलेज’मा ‘कविराज’ तहको अध्ययन गर्ने विद्यार्थीलाई पढाउन थाले। त्यहाँ उनले करिब १५ महिना प्राचार्यका रुपमा पढाउने काम गरे।

त्यसपछि डा. नेत्र लोकसेवा परीक्षामार्फत २०६३ मा आयुर्वेद चिकित्सकका रुपमा सातौं तहको सरकारी स्थायी जागिरमा प्रवेश गरे। नियम संशोधन भएकाले सरकारी जागिरमा प्रवेश गर्नासाथ नै उनी स्वत: स्तरवृद्धि भएर आठौं तहमा पुगे।

आयुर्वेद चिकित्सकका रूपमा स्थायी सरकारी जागिरे भएपछि डा. नेत्र पोष्टिङ भएर ताप्लेजुङको ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र’मा पुगे। उनले केन्द्रको प्रमुखकै भूमिकामा रहेर २०६९ सम्म करिब ६ वर्ष काम गरे।

त्यसपछि उनी सरुवा भएर तत्कालीन ‘कोशी अञ्चल आयुर्वेद औषधालय’ धनकुटामा पुगे। धनकुटामा उनले करिब चार वर्ष औषधालयको प्रमुखकै भूमिकामा रहेर काम गरे।

शल्यतन्त्रमा एमएस
डा. नेत्रलाई थप अध्ययन गर्नु त छँदै थियो। उनलाई भारतको छात्रवृत्ति कोटामा थप अध्ययन गर्ने मौका पनि मिलिहाल्यो। उनले त्यो मौका गुमाएनन्।

डा. नेत्र २०७३ मा भारतको जयपुरस्थित ‘नेश्नल इन्स्टिच्युट अफ आयुर्वेद’मा स्नातकोत्तर तहको आयुर्वेद विषय अध्ययनका लागि भर्ना भए। त्यहाँ उनले स्नातकोत्तर तहको आयुर्वेद सर्जरीको ‘शल्य तन्त्र’ विषयमा तीन वर्षे ‘एमएस’अध्ययन गरे र उत्कृष्ट अंकका साथ एमएस अध्ययन सके।

तीन वर्षे एमएस अध्ययन सकेर २०७६ मा नेपाल फर्किए। त्यो बेला कर्मचारीको समायोजन भएको थियो। उनी समायोजन भएर इलामको तत्कालिन ‘मेची अञ्चल आयुर्वेद औषधालय’मा पोष्टिङ भए। त्यहाँ उनले सात महिना काम गरे।

इलामपछि डा. नेत्र २०७७ मा सरुवा भएर ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र’ मोरङमा पुगे। ताप्लेजुङ, धनकुटा इलाम र मोरङमा उनले कार्यालय प्रमुखकै जिम्मेवारीमा रहेर काम गरे। धनकुटा, इलाम र मोरङमा राम्रो काम गरे बापत उनले नेतृत्व गरेको कार्यालय पुरस्कृत समेत भयो।

मोरङमा नै काम गरिरहँदा डा. नेत्र २०७९ जेठमा नवौं तहमा बढुवा भए। नवौं तहमा बढुवा भएपछि उनी पोष्टिङ भएर काठमाडौंको नरदेवीस्थित ‘आयुर्वेद चिकित्सालय’ आए। गत जेठमा उनको दशौं तहमा स्तरवृद्धि भयो।

हाल डा. नेत्र वरिष्ठ कन्सल्टेन्ट शल्य चिकित्सकका रुपमा नरदेवीस्थित ‘आयुर्वेद चिकित्सालय’मा नै कार्यरत छन्। चिकित्सालयमा उनी ‘शल्य तन्त्र विभाग’को प्रमुखको भूमिकामा समेत छन्।

फागुन १७, २०८१ शनिबार १३:०४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।