ट्रम्पसँगको बहसपछि जेलेन्स्कीलाई ह्वाइट हाउसबाट निकालियो, माफी माग्न अस्वीकार

ट्रम्पसँगको बहसपछि जेलेन्स्कीलाई ह्वाइट हाउसबाट निकालियो, माफी माग्न अस्वीकार

एजेन्सी : अमेरिकी राष्ट्रपति ट्रम्पसँगको विवादपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट निकालिएको खुलेको छ।

शुक्रबार दुई नेताबीच करिब १० मिनेट चर्को बहस भएको थियो।

सीएनएनको रिपोर्ट अनुसार बहसपछि जेलेन्स्कीसहितको युक्रेनी प्रतिनिधिमण्डल ओभल अफिसबाट निस्केर अर्को कोठामा गए भने अमेरिकी टोली त्यहीँ बस्यो।

त्यो समयमा ट्रम्पले उपराष्ट्रपति भान्स, विदेशमन्त्री रुबियो र एनएसए माइक वाल्ट्जसँग छलफल गरे। छलफलका क्रममा ट्रम्पले जेलेन्स्की वार्ता गर्ने अवस्थामा नभएको बताए।

त्यसपछि ट्रम्पले माइक वाल्ट्ज र रुबियोलाई जेलेन्स्कीलाई ‘जाने समय भयो’ भन्न लगाए। ट्रम्पले त्यसका लागि माइक वाल्ट्ज र रुबियोलाई आफैँ जान भनेका थिए।

जब यी दुई अधिकारीहरू त्यहाँ पुगे, जेलेन्स्कीले उनीहरूलाई कुरा गरेर समस्याको समाधान गर्न सकिने भन्दै ट्रम्पसँग पुन: वार्ता गर्ने इच्छा व्यक्त गरेका थिए।

तर, ट्रम्पको अनिच्छापछि जेलेन्स्कीलाई त्यो अवसर दिइएन र दुवै नेताको संयुक्त पत्रकार सम्मेलन पनि रद्द भयो।

बहसपछि जेलेन्स्कीले ट्रम्पसँग माफी माग्न अस्वीकार गरेका छन्। फक्स न्यूजसँगको कुराकानीमा उनले सुरक्षाको ग्यारेन्टी नभएसम्म उनी कुनै पनि शान्ति सम्झौतामा भाग नलिने बताए।

जेलेन्स्कीले भने- ‘म  ट्रम्पलाई सम्मान गर्छु। तर मैले माफी माग्नुपर्ने केही पनि गलत गरेको छैन। यो बहस दुवैका लागि राम्रो भएन। युक्रेनले एकै रातमा रुसप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्दैन भन्ने कुरा ट्रम्पले बुझ्न आवश्यक छ।’

बहसपछि ट्रम्पले युक्रेनलाई थप समर्थन देखाऊन् भन्ने आफूले चाहेको जेलेन्स्कीले बताए। युक्रेनले कहिल्यै पनि अमेरिकालाई साझेदारको रूपमा गुमाउन नचाहेको उनको भनाइ छ।

जेलेन्स्कीले युक्रेनले पूर्ण सुरक्षा ग्यारेन्टी नपाएसम्म रूससँगको शान्ति सम्झौतामा सामेल नहुने समेत पुन: दोहोर्याए।

ह्वाइट हाउसबाट निस्कँदै गर्दा ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै उनले जेलेन्स्कीभन्दा पुटिन शान्तिप्रति गम्भीर रहेको दाबी गरे।

युक्रेनलाई सहयोग रोक्ने प्रश्नको जवाफमा ट्रम्पले भने- ‘अब यसले कुनै फरक पर्दैन। अब जेलेन्स्कीले साँच्चै यो युद्ध अन्त्य गर्न चाहन्छन् भने मात्र उनीसँग कुरा हुनेछ।’

यसैबीच, धेरै युरोपेली नेताहरूले जेलेन्स्कीलाई समर्थन जनाएका छन्। नर्वे, नेदरल्याण्ड्स, पोल्याण्ड, युरोपेली संघ, जर्मनी, बेलायत, क्यानडा र अष्ट्रेलिया जस्ता युरोपेली देशहरूले पनि जेलेन्स्कीलाई समर्थन जनाएका छन्।

फागुन १७, २०८१ शनिबार १२:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।