सेन्सरले पास गरेको दृश्य दर्शकले ‘पास’ नगर्दा 'लाज शरणम्' टिमले घटायो फिल्मको १५ मिनेट

सेन्सरले पास गरेको दृश्य दर्शकले ‘पास’ नगर्दा 'लाज शरणम्' टिमले घटायो फिल्मको १५ मिनेट

काठमाडौं : फिल्म 'लाज शरणम्' मा आफ्नो गेटअपमा देखिएका सीताराम कट्टेलको पात्रले चरित्रहत्या हुनसक्ने भन्दै मोहम्मद आफताब आलम अदालत गए पनि सेन्सर बोर्डले ‘त्यस्तो केही नभएको’ भन्दै निर्माताले पेस गरेकै फिल्म पास गर्यो। आलमको मुद्दाले फिल्मको प्रचारमा भने राख्नै सघायो।

बुधवार फिल्म रिलिज भएपछि दर्शकहरूले नाक खुम्च्याउँदै सबैभन्दा धेरै उही धुर्मुसको आलमको पात्रबारे नकारात्मक टिप्पणी गरे। अनावश्यक तन्काएर लामो बनाएको फिल्म भन्दा त ‘सक्किगोनि’ टेलिफिल्म नै राम्रो भन्ने प्रतिक्रिया आउन थालेपछि सेन्सर बोर्डले पास गरेका दृश्य आखिरमा निर्माताले नै काटे।

बुधवार हलमा रिलिज भएको भन्दा फिल्म १५ मिनेट छोटो भइसक्यो बिहीबारबाट। निर्माण टिम आफैँले हलमा रिलिज भइसकेको फिल्म पून सम्पादन गरेर १५ मिनेट छोट्टाउँदा अधिकांश धुर्मुसको आलम पात्रकै सिन कटौतीमा पर्यो।

१५ मिनेटको सिन काटे पनि अझै फिल्म साढे दुई घण्टाभन्दा बढी लामो छ। फिल्म हेरेका दर्शक जसले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया राखिरहेका छन् उनीहरूको तर्कमा त अन्तिमको ३० मिनेट बाहेकको दृश्य इन्गेजिङ नै छैन।

अब यसो भनेर फिल्म काटेर निर्माण टिमले ३० मिनेटको त पक्कै नबलान्। तर बालेनको र्याप अनि आलमको मुद्दाले बनाइदिएको फिल्मको हाइप भने फिल्म रिलिज भएसँगै घटेको देखिन्छ।

सँगै रिलिज भएको मायावीको अवस्था ‘लाज शरणमा’ को भन्दा पनि महाविजोग छ। सामाजिक सञ्जालमा १२ गाउँको प्रमोशनताका झैँ मायावी बेस्ट भन्दै कमेन्ट गराइए पनि बिहीबारसम्म पनि हलमा त्यसको प्रभाव परेको देखिएन।

रिलिजको दिन सबैभन्दा कम शो पाएको र रिलिज अगाडि पनि त्यति गतिलो हाइप बनाउन नसकेको फेरि रेशम फिलिलीले राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्म हेरेकाहरूले अनि केही समीक्षकहरूले फिल्म निकै रमाइलो पारामा बनेको प्रतिक्रिया दिइरहेका छन्।

यसरी बिहीबारसम्मको पारा हेर्दा त नपत्याउने खोलाले बगाए झैँ फेरि रेशम फिलिलीले व्यापार आँकडा र समीक्षामा बाजी मार्न बेर लाग्ने देखिएन।

फागुन १५, २०८१ बिहीबार २२:२८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।