पशुपति मन्दिरमा चढ्ने दानको सुन व्यवस्थित गर्न समिति गठन

पशुपति मन्दिरमा चढ्ने दानको सुन व्यवस्थित गर्न समिति गठन

काठमाडौँ : पशुपतिनाथ मन्दिरमा सुन दान गर्ने दाता बढेपछि व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले समिति गठन गरेको छ। पशुपति मन्दिरमा चढ्ने सुन, चाँदी लगायतका बहुमूल्य धातु मन्दिरको माथिल्लो तलामा रहेको भन्डारमा राखिने गरिएको छ।

यस अगाडि सरकारले जलहरी निर्माण गर्न कोषलाई दिएको सुन दान विवादमा परेको थियो। सुनको परिमाणमा खेलबाड भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोष पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा लगाएको थियो।

विशेषबाट पदाधिकारीले सफाइ पाएपछि अख्तियार सो फैसलाको पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बिहीबार मन्दिरमा सुन दान दिने दाताहरू आएकाले त्यसलाई व्यवस्थित गर्न परिषद्बाट समिति गठन गरेको जानकारी दिए।

उनले भारतको गोवाका मन्त्रीले नै सुन दान गर्न चाहेको भन्दै अब यस्तो दानको सदुपयोग गर्न समिति नै गठन भएको जानकारी दिए।

‘सुन लिएर व्यवस्थित गर्ने कार्यविधि रहेनछ। अब समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माणमा गरी दाताबाट सुन लिएर त्यसको सदुपयोग हुन्छ’ उनले भने।

उनले समितिमा रहेका पदाधिकारीहरूबारे धेरै खुलाएनन्। समितिलाई तोकिएको कार्यविधि र समयसिमा समेत उनले खुलाएनन्।

फागुन १५, २०८१ बिहीबार १६:५७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।