भारतमा प्रतिबन्ध लागेसँगै नेपालमा ट्रामाडोलको ‘कहर’, एक सातामा फेला पर्‍यो तस्करीको आठ लाख चक्की

भारतमा प्रतिबन्ध लागेसँगै नेपालमा ट्रामाडोलको ‘कहर’, एक सातामा फेला पर्‍यो तस्करीको आठ लाख चक्की

काठमाडौं : नेपालमा फाट्टफुट्ट फेला पर्ने ट्रामाडोल एक साताको बिचमा आठ लाख चक्की फेला पर्यो। भारतबाट तस्करी गरेर नेपाल भित्र्याउन सक्रिय गिरोहका सदस्यहरू ट्रामाडोलसहित फाट्टफुट्ट पक्राउ नपर्ने हैन। तर एक साताभित्र जुन परिणाममा यो फेला पर्यो यो निकै जोखिमपूर्ण देखायो

लागु औषध नियन्त्रण ब्युरोले फागुन ४ मा एक लाख ८० हजार ४ सय ३० चक्की ट्रामाडोलसहित श्रीबहादुर राई र विपिनकुमार महतोलाई पक्राउ गरेको थियो। त्यसको एक सातापछि अर्को ठुलो परिणाम बरामद भयो। फागुन १२ मा पाँच लाख ६४ हजार चक्कीसहित सुधीर लामिछाने र साइमन बनवारी पक्राउ परे। यी चारै जना काठमाडौँमै समातिएका हुन्।

दुखाई कम गर्न प्रयोग हुने यो चक्की नियन्त्रित लागु औषधी समूहमा पर्छन्। चिकित्सकको सिफारिसबिना यसको विक्री गर्न पाइन्न। यो चक्कीमा मर्फिनसहित लट्ठ्याउने रसायन हुने कारण लागुऔषधको कुलतमा फसेकाहरूले अवैध रूपमा किनेर यसको प्रयोग गर्छन्।

नेपालमा मनोद्दिपक समूहका नियन्त्रित औषधीहरू लागुऔषध प्रयोगकर्ताहरूले प्रयोग गर्ने गरेको र भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर यस्ता समूहका नियन्त्रित औषधीको कारोबार हुने गरेको देखिए पनि यति ठुलो मात्रामा ट्रामाडोल बरामद भएको पहिलो पटक हो।

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता नारायणप्रसाद अधिकारी ब्युरोले बरामद गरेको ट्रामाडोलको परिणाम सबैभन्दा धेरै रहेको बताउँछन्। उनले प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले नेपाली बजार लक्षित गरेर भारतबाट यो तस्करी गरेर नेपाल भित्र्याएको देखिएको र यसबारे विस्तृत अनुसन्धान जारी रहेको उनले बताए।

ट्रामाडोलको तस्करीको आरोपमा पक्राउ परेकाहरु।

ट्रामाडोलको तस्करीको आरोपमा पक्राउ परेकाहरु।
‘एक साता अगाडि हामीले डेढ लाख परिमाणसहित दुई जनालाई पक्राउ गरेका थियौँ। फागुन १२ मा त त्यो परिमाण पनि नाघेर साढे पाँच लाखसहित दुई जना फेला परे,’ एसपी अधिकारीले उकेरासँग भने ‘अहिलेसम्मको अनुसन्धानमा पक्राउ परेकाहरूले नेपाली बजार लक्षित गरेर भित्र्याएको देखिन्छ। यसमा अन्य कारण पनि छ कि भनेर अनुसन्धान गरिरहेका छौँ।’

काठमाडौँमा यसको तस्करीमा संलग्न एक जना वैशाखमा पनि फेला परेका थिए। ब्युरोले नै २६ वर्षका कबिर लामालाई ४२ हजार पाँच सय थान ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल र ५० एमजीकै १० हजार थान ट्रामाडेक्स हाइड्रोक्लोराइड चक्कीसहित पक्राउ गरेको थियो।

अहिले आएर यो एकै समूहबाट साढे पाँच लाखको सङ्ख्यामा फेला पर्न थालेका छन्। यसले भारतबाट अवैध रूपमा नेपालमा विभिन्न नाममा ट्रामाडोल भित्र्याउने क्रम बढेको देखिन्छ।

स्वास्थ्य खतराको सङ्केत

हेरोइन जस्ता महँगा लागूपदार्थको विकल्पको रूपमा पछिल्लो समय ट्रामाडोलको प्रयोग बढ्दो क्रममा देखिन्छ। विशेष गरेर विशेष गरी अफ्रिका र मध्य पूर्वी देशहरूमा यसको प्रभावले स्वास्थ्य क्षेत्रमा सङ्कटकै अवस्था निम्त्याएको देखिन्छ।

हालै बिबिसीले गरेको एक अनुसन्धानमा यसले पश्चिम अफ्रिकाका केही भागमा सार्वजनिक स्वास्थ्य सङ्कट नै निम्त्याएको खुलेको थियो। यसको मुख्य उत्पादन केन्द्र भारत रहेको र भारतमा रहेका औषधी उत्पादन कम्पनीहरूबाट उत्पादित ट्रामाडोल तस्करी भएर घाना अनि नाइजेरिया जस्ता पश्चिम अफ्रिकी देशहरूमा पुग्ने गरेको उल्लेख छ।

यसको व्यापक तस्करी भइरहेको खुलेपछि भारत कार्वाहीमा सक्रिय भएको थियो।  २०२४ जुलाई २८ मा भारतको भन्सारको विशेष खुफिया तथा अनुसन्धान शाखा (SIIB) ले राजकोट स्थित एक निर्यातकर्ताले पश्चिम अफ्रिकी देश सिएरा लिओन र नाइजरका लागि निर्यात गर्न लागेका औषधीबारे अनुसन्धान गर्दा अवैध रुपमा ट्रामाडोल लैजान लागेको खुलेको थियो।

निर्यातकर्ताले डाइक्लोफेनाक र गेबेडोल ट्याबलेट भनेर घोषणा गरेका थिए। भन्सार अधिकारीहरूले विस्तृत परीक्षण गर्दा कन्टेनरको अगाडिको भागमा घोषित वस्तुहरू फेला परे पनि पछाडि घोषणा नगरिएका औषधि स्ट्रिपहरू भएका बक्सहरू फेला पारे।

ती बक्सहरूमा 'ट्रामाकिङ्ग 225' र 'रोयल-225' अंकित थियो र दुवैमा ट्रामाडोल हाइड्रोक्लोराइड ट्याबलेट 225 मिलिग्राम रहेको थियो। यी स्ट्रिपहरू र बक्सहरूमा निर्माताको कुनै विवरण थिएन। अधिकारीहरूले जाँचको क्रममा ट्रामाडोलका लगभग ६८ लाख ट्याबलेट बरामद गरे, जसको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग एक अर्ब १० करोड रुपैयाँ थियो। उसले हालै औषधिको उत्पादन तथा निर्यातको इजाजत पत्र नै रद्द गरेको थियो।

उता भारतमा उत्पादनै रद्द गरेसँगै एकाएक नेपालमा यसको तस्करी बढेको देखिन्छ। अहिले भारतमा सरकारी तहबाटै ट्रामाडोलको उत्पादनको अनुमति पाएका कारखानामा छापा मार्ने अनि उत्पादन भइसकेका औषधी नियन्त्रणमा लिएर नष्ट गर्ने अभियान चलिरहेको छ। यता नेपालमा भने लाखौ चक्कीसहित पक्राउ पर्नेहरु बढीरहेका छन्। 

लागुऔषध नियन्त्रणमा लामो समय अनुसन्धान गरेका नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल एकाएक नेपालमा भारी परिमाणसहित ट्रामाडोल बरामद हुनु जोखिमको सङ्केत रहेको बताउँछन्। जति परिणाममा नेपालमा ट्रामाडोलका चक्की फेला परेका छन् त्यसको आधारमा यो नेपालको बजार लक्षित गरेर भित्र्याएकोमा उनी शङ्का गर्छन्।

‘अफ्रिकी देशहरूमा यसले आतङ्क नै मच्याएको छ। त्यहाँ यसको दुरुपयोगमा फसेकाहरूको सङ्ख्या निकै उच्च देखिन्छ,’ उनले भने ‘जुन परिमाणमा नेपालमा बरामद भइरहेको छ त्यसले कतै तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहले नेपालाई ट्रान्जिट बनाएको हुनसक्ने देखिन्छ। यसमा गम्भीर अनुसन्धान आवश्यक छ।’

स्वास्सप्रश्वासमा गम्भीर असरदेखि ज्यानै जाने जोखिम

जानकारका अनुसार ट्रामाडोल एक ओपिओइड पेनकिलर हो जुन पेनकिलरको रूपमा प्रयोग हुन्छ। यसले सेवनकर्तामा सुखद अनुभव समेत गराउने र लामो नियमित खाँदा  लत लगाउने जोखिम देखिन्छ। प्राय महँगो लागुऔषधको लतमा फसेकाहरूले विकल्पमा यसको प्रयोग गर्ने गरेको देखिन्छ।

यो वैध रूपमा प्रेस्क्रिप्सनमार्फत उपलब्ध हुने औषधी समेत हो। तर यसको लतमा फसेकाहरूमाझ उच्च माग हुने भएकाले यसको अवैध व्यापार समेत बढी रहेको छ। अवैध व्यापारको मुख्य स्रोत भारत देखिन्छ।

फागुन १३, २०८१ मंगलबार १८:५५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।