रुस-युक्रेन युद्ध अन्त्य गर्ने बारे म्याक्रों र ट्रम्पबीच छलफल, संयुक्त पत्रकार सम्मेलनमा के भने?

रुस-युक्रेन युद्ध अन्त्य गर्ने बारे म्याक्रों र ट्रम्पबीच छलफल, संयुक्त पत्रकार सम्मेलनमा के भने?

एजेन्सी : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनमा हुने कुनै पनि शान्ति सम्झौता सुरक्षा ग्यारेन्टीसहितको हुनुपर्ने बताएका छन्।

रुस-युक्रेन युद्धको बारेमा छलफल गर्न ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि फ्रान्सेली राष्ट्रपति म्याक्रोंले यस्तो बताएका हुन्।

‘यो शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन, यसको अर्थ ग्यारेन्टी बिनाको युद्धविराम हुनु हुँदैन’, म्याक्रोंले सोमबार संयुक्त पत्रकार सम्मेलनमा भने।

ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्ने तथा लागत र व्यय अमेरिकाले मात्र नभई युरोपेली देशहरूले वहन गर्नुपर्ने बताएका छन्।

ट्रम्पलाई जवाफ दिँदै म्याक्रोंले युरोपले यसअघि पनि लागत र व्यय व्यहोरिरहेको स्मरण गर्दै अझै समान रूपमा बाँडफाँड गर्न प्रतिबद्ध रहेको बताए।

उनले रुसी आक्रमणको तेस्रो वर्षमा भएको वार्ताले अगाडिका बाटहरू थप प्रष्ट पार्दै लगेको बताए।

भेटपछिको पत्रकार सम्मेलनमा ट्रम्पले आफूले सकेसम्म चाँडो युद्धविराम चाहेको भन्दै सहमति भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रूस जाने समेत बताए।

हालै जेलेन्स्कीले शान्ति वा नेटोको सदस्यता पाएमा आफू पद त्याग्न तयार रहेको बताएका थिए।

फागुन १३, २०८१ मंगलबार ०९:२१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।