इजरायली जेलबाट ६ सय बढी प्यालेस्टाइनी कैदी रिहा हुँदै, हमासले ६ इजरायली बन्धक रिहा गर्‍यो

इजरायली जेलबाट ६ सय बढी प्यालेस्टाइनी कैदी रिहा हुँदै, हमासले ६ इजरायली बन्धक रिहा गर्‍यो

गाजा : इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता अनुसार इजरायलले आज ६ सय बढी प्यालेस्टाइनी कैदी तथा थुनुवा रिहा गर्दैछ।

युद्धविराम सुरु भएयता एकै पटक गरिएको यो सबैभन्दा ठुलो रिहाइ हो। यसअघि बिहीबार मृत बन्धकहरूको हस्तान्तरणका बेला कुनै पनि प्यालेस्टाइनी कैदी रिहा गरिएका थिएनन्।

रिहा हुने कैदीमध्ये करिब ४ सय जना अक्टोबर ७ पछि पक्राउ परेकाहरू हुन्। एक सय भन्दा बढी कैदीहरूले इजरायलीको हत्या लगायत गम्भीर अपराधमा लामो वा जन्मकैदको सजाय भोगिरहेका थिए।

सबैभन्दा लामो समयदेखि कैद जीवन बिताइरहेका नाएल बरघौती पनि रिहा हुँदैछन्। उनलाई सन् १९७८ मा एक इजरायली बस चालकको हत्या गरेको आरोपमा ४५ वर्षअघि पक्राउ गरिएको थियो।

हमासद्वारा ६ इजरायली बन्धक रिहा

हमासले पनि ६ जना इजरायली बन्धकलाई रिहा गरेको छ। दक्षिणी गाजाको राफामा अभेरा मेन्गिस्टु र टल शोहमलाई शनिवार बिहान रेडक्रसलाई हस्तान्तरण गरियो।

केही घण्टापछि मध्य गाजाको नुसैरातमा एलिया कोहेन, ओमेर शेम टोभ र ओमेर वेनकर्टलाई हस्तान्तरण गरिएको थियो। छैटौँ बन्धक हिशाम अल-सायदलाई स्थानीय समयअनुसार तीन बजे बिना कुनै सार्वजनिक समारोह रिहा गरियो।

इजरायली रक्षा बल (आईडीएफ) का अनुसार रिहा भएका बन्धकहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको छ र उनीहरूलाई परिवारसँग भेटघाट गराइएको छ। अस्पतालमा परिवारका अन्य सदस्यहरूलाई आईडीएफका प्रतिनिधिहरूले नियमित रूपमा अपडेट दिइरहेका छन्।

फागुन १०, २०८१ शनिबार २०:४५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।