समाचार सङ्कलनमा अवरोध पूर्याएपछि ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध एपीले हाल्यो मुद्दा

वासिङ्टन : समाचार सङ्कलनमा राष्ट्रपतिको कार्यक्रममा पहुँच नदिएको भन्दै समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ।
ह्वाइट हाउसको प्रशासनले समाचार एजेन्सीको पहुँचमा प्रतिबन्ध लगाउन थालेको १० दिनपछि शुक्रवार अपराह्न वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर भएको हो। ट्रम्पले मनोनीत गरेका अमेरिकी जिल्ला न्यायाधीश ट्रेभर म्याकफेडेनलाई यो मुद्दा हेर्ने जिम्मेवारी पाएका छन्।
एपीले ह्वाइट हाउसमा हुने औपचारिक कार्यक्रममै एजेन्सीलाई पहुँच नदिएर असंवैधानिक रूपमा नियन्त्रण गरेको दाबी गरेको छ। मुद्दामा ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसन विल्स, डेपुटी चिफ अफ स्टाफ टेलर बुडोविच र प्रेस सेक्रेटरी कारोलिन लेभिटलाई प्रतिवादी बनाइएको छ।
मुद्दामा प्रेस र संयुक्त राज्य अमेरिकाका सबै मानिसहरूलाई आफ्नो शब्द छनौट गर्ने अधिकार रहेको भन्दै यसमा सरकारले प्रतिशोध लिएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एपीलाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिँदै ह्वाइट हाउसमा प्रतिबन्ध लगाउने बताएका थिए।
मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जल क्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको विषयलाई एपीले राष्ट्रपति ट्रम्पले भनेजस्तो गरी उल्लेख नगरेपछि राष्ट्रपति ट्रम्पले एपीविरूद्ध खनिएका थिए।
ट्रम्पले आफ्नो कार्यकालको पहिलो महिनामा उक्त क्षेत्रलाई ‘गल्फ अफ अमेरिका’ को संज्ञा दिएका थिए। एपीले ‘गल्फ अफ अमेरिका’ नलेखेपछि कार्यकारी आदेश पालना नगरेसम्मका लागि भन्दै एपीका पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेशमा प्रतिबन्ध लगाएका थिए। त्यसपछि ह्वाइट हाउसले एपीका पत्रकारहरूलाई एयर फोर्स वान र ओभल अफिसमा प्रवेशमा रोक लगायो।
बिहीबार राजधानी वासिङ्टनमा रिपब्लिकन गभर्नर्स एसोसिएसनलाई सम्बोधन गर्दै ट्रम्पले मेक्सिकोको खाडीका रूपमा चिनिँदै आएको क्षेत्रलाई अमेरिकाको खाडी भनौँ भनी गरेको प्रस्ताव अस्वीकार गरेको भन्दै ‘कट्टर वामपन्थी सङ्गठन’भएको दाबी गरेका थिए। उनले एपीलाई पत्रकार सम्मेलनबाट बाहिर निकालिरहेको र यसमा उनीहरूले मुद्दा हाल्ने र शायद जित्ने पनि बताएका थिए।
फागुन १०, २०८१ शनिबार २०:१२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।