महाशिवरात्रीका लागि सिगारिँदै पशुपति क्षेत्र, २५ सय साधुसन्त आउने अनुमान

महाशिवरात्रीका लागि सिगारिँदै पशुपति क्षेत्र, २५ सय साधुसन्त आउने अनुमान

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्री पर्वका लागि पाशुपत क्षेत्रलाई हराभर र व्यवस्थित बनाउने कामलाई तीव्रता दिएको छ।

फागुन १४ गते हुने महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर नौ वटा उप-समितिमार्फत व्यवस्थापनको कामलाई तीव्रता दिइएको हो।

कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार सुरक्षा, प्रचारप्रसार व्यवस्थापन, साधुसन्तको सेवा, धार्मिक कार्यक्रमलगायतलाई फरक-फरक उपसमिति बनाइएको छ। 

उनले भने, ‘सरसफाइ, जुत्ता चप्पलको व्यवस्थापन, स्वयं सेवक परिचालन, स्वास्थ्य सिविर व्यवस्थापनका काम अघि बढिसकेको छ।’

महाशिवरात्रीका लागि कोषमा डेढ करोडको बजेट व्यवस्थापन गरिएको छ। कोषको खर्च गर्ने आफ्नै मापदण्ड भएकाले सोही अनुसारको काम गरिरहेका उनको भनाइ छ।।

‘विधिभित्र बसेर खर्च गर्नुपर्छ। हाम्रो डेढ करोडको बजेट हो। तर यति खर्चले मात्रै पुग्दैन। अरु संस्थानहरूको पनि सहयोग जुटाउने काम भइरहेको छ’, उनले भने।

पशुपतिनाथको दर्शनका लागि दर्शन मार्ग सहज र झकिझकाउ बनाउन बत्तीहरूको जडान भइरहेको छ। सजावटका अधिकांश सामान भारतबाट आयात गरिएको छ।

‘थप जनशक्ति परिचालन गरेर सरसफाइ गरिरहेका छौँ। शिव र शक्तिसँग सम्बन्धित कलाकृतिहरू सहितको पेन्टिङ गरिरहेका छौँ,’ उनले थपे, ‘तर यहाँ आउने सामग्रीहरू टेन्डर प्रक्रियाबाट नेपाल एवं भारतबाट नै ल्याउछौँ। फूल धेरैजसो भारतबाटै आउँछ।’

दर्शनार्थीहरूले दुःख नपाउन र सुरक्षित तरिकाले दर्शन गर्नेगरी व्यवस्थापनमा ध्यान दिएको कोषाध्यक्ष अधिकारीको दाबी छ। दर्शनका लागि चारवटै ढोका खोलिने भएकाले पनि दर्शन छिटो र सहज हुने उनको भनाइ छ।

‘दर्शनार्थीहरुलाई सजिलो, छिटो र सुरक्षित रूपमा दर्शन गराउने तयारी भइरहेको छ। चारवटा लाइनको व्यवस्था गरेका छौँ। मन्दिरको चारवटा ढोका छन्, भगवान शिवको पनि चारवटा मुहार छन् र चारवटै ढोकाबाट दर्शन गर्ने हाम्रो परम्परा छ’, उनले भने।

महाशिवरात्रीको दिन मन्दिरको चारवटै ढोका विहान साढे दुई बजे नै खोल्ने र दर्शनलाई छिटो गर्ने तरिकाले तयारी भइरहेको छ। ८ देखि १० दर्शनार्थीले एकैपटक दर्शन गर्न सक्नेगरी व्यवस्था मिलाइएको छ।

ट्राफिक व्यवस्थापनको सन्दर्भमा १३ गते राति १२ बजेदेखि नै कोटेश्वर सिनामंगलसम्मको ठूला गाडीहरू डाइभर्सन हुने, महाराजगन्ज हुँदै आउने सवारी साधनहरू गोपीकृष्ण हलको छेउबाट डाइभर्सन गराइनेछ।

साना सवारी साधनहरू भने नियमित रूपमा सिनामंगलदेखि चावहिलसम्मको रुटमा सकेसम्म दुइतर्फी नै चलाउनेगरी व्यवस्थापन भइरहेको छ। यसका साथै निजी सवारी साधनहरू शिवरात्री पर्वसँग सम्बन्धित, सेवाका लागि आएका, स्वयंमसेवक र कार्यालयका कामका लागि आउनेहरुको लागि भने पासको व्यवस्था गरिएको छ।

साधुसन्तहरूलाई भोजनको व्यवस्था गर्ने सवारीलाई तिलगंगासम्म, कोषका पदाधिकारीका लागि कोषकै प्राङ्गणमा, सुरक्षासँग सम्बन्धी प्रहरीको क्षेत्रमा र भक्तजनहरूको सवारी सिफल चौरमा पार्किङ गर्ने व्यवस्था गरिएको छ।

भक्तजनहरूलाई सजिलोका लागि गत वर्षको अुनभवको आधारमा सार्वजनिक यातायात सुचारु गर्ने प्रवक्ता अधिकारीको भनाइ छ।

विगतमा २५ सय, तीन हजार साधुसन्त आउने अपेक्षा गरिएकोमा भारतमा जारी महाकुम्भ मेलाका कारण अपेक्षा गरिएको भन्दा कम आउने सम्भावना रहेको उनले सुनाए।

‘महाकुम्भ शिवरात्रीकै दिन सम्पन्न हुँदैछ। त्यसैले कतिपय साधुहरू अपेक्षा गरिएको भन्दा कम पनि आउन सक्नुहुन्छ। कतिपयले महाकुम्भमा स्नान गरेर आइसक्नु भएकाले उहाँहरू पशुपतिमा आउने सम्भावना छ। गत वर्ष २५ सय तीन हजारको आसपासमा साधुसन्त आउनुभएको थियो। यसपाली पनि त्यतिनै आउनुहोला’, उनले भने।

यस वर्षको शिवरात्रीमा १३ गते बिहानको राति साढे दुई बजेदेखि ढोका खुल्ने र १५ गते बिहान ६ बजेसम्म पूजा हुनेछ। सात/आठ भन्दा बढी भक्तले दर्शन गर्ने कोषको अपेक्षा छ।

प्रमिला कार्की/नेपाल न्यूज बैंक

फागुन १०, २०८१ शनिबार ०८:२३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।