एपीएफलाई हराउँदै प्रतियोगिताको नयाँ टोली चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा

मकवानपुर : चर्च ब्वाइज युनाइटेड बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाईज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।
चर्च ब्वाइजको जीतमा विदेशी आर्मण्डले खेलको दोस्रो हाफको २८ औँ र ३२ औँ मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औँ मिनेट गोल गरे।
एपीएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६ औँ मिनेटमा र हरि कार्की दोस्रो हाफको ४३ औँ मिनेटमा गोल गरे। खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। जीतसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ।
प्रतियोगितामा एपीएफले सङ्कटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। एपीएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो। गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोली शनिवार मच्छिन्द्र फुटबल क्लब र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल सोमबार हुनेछ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ।
फागुन ९, २०८१ शुक्रबार २०:५३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।