च्याम्पियन्स ट्रफीमा आज भारतविरुद्ध बंगलादेश भिड्दै, वर्षाको सम्भावना ५५ प्रतिशत

काठमाडौं : च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा आज भारत र बंगलादेश भिड्दैछन्। खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे दुबई क्रिकेट स्टेडियममा हुनेछ।
दुवै टोली एकदिवसीय खेलमा ४१ पटक आमनेसामने भएका छन्। यसमा भारतले ३२ खेल जित्दा बंगलादेशले ८ खेल मात्र जितेको छ। जबकि १ खेलको नतिजा तय हुन सकेन।
दुई टिमबीच भएका पछिल्ला पाँच एक दिवसीय खेलमा भारतले दुई तथा बंगलादेशले तीन खेल जितेका छन्। यद्यपि च्याम्पियन्स ट्रफीको इतिहासमा भने भारत र बंगलादेश एक पटक मात्र भिडेका छन्।
यो खेल २०१७ सिजनमा भएको थियो। बर्मिङ्घममा खेलिएको सेमिफाइनलमा भारतीय टोलीले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यसमा कप्तान रोहित शर्माले १२३ रनको अविजित इनिङ खेलेका थिए।
दुबईको पिच पहिले निकै ढिलो हुने गरेकोमा अहिले भने परिवर्तन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिपोर्टका अनुसार दुबईमा भारतले पाउने पिच नयाँ हुनेछ। दुबई रंगशालामा दुईवटा नयाँ पिचहरू छन् जुन हालसालै कुनै पनि खेलको लागि प्रयोग गरिएको छैन।
प्रतिवेदनमा पिचहरू अलि छिटो हुने दाबी गरिएको छ, जसले स्पिनरहरूलाई फाइदा पुर्याउनेछ। यहाँ दोस्रो ब्याटिङ गर्ने टोलीको जितको रेकर्ड राम्रो छ, त्यसैले टस जित्ने टोलीले पहिले फिल्डिङ गर्ने निर्णय गर्न सक्छ।
यहाँ अहिलेसम्म ५८ एकदिवसीय खेल खेलिएका छन्। पहिले ब्याटिङ गर्ने टोलीले २२ खेल जितेको थियो र दोस्रो इनिङमा ब्याटिङ गर्ने टोलीले ३४ खेल जित्यो। यहाँको उच्चतम स्कोर ३५५/५ हो, जुन इङ्ग्ल्याण्डले २०१५ मा पाकिस्तान विरुद्ध बनाएको थियो।
यसैबीच वर्षाले भारत र बंगलादेशबीचको खेल बिथोल्न सक्ने देखिएको छ। आज दुबईमा पानी पर्ने सम्भावना ५५ प्रतिशत छ। तापक्रम २७ देखि २० डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिँदा हावा प्रतिघण्टा ११ किलोमिटरको गतिमा चल्नेछ।
फागुन ८, २०८१ बिहीबार १३:४७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।