प्रकृति मृत्यु प्रकरण : नेपाल फर्किएका विद्यार्थीको आतेजाते टिकट खर्च विश्वविद्यालयले बेहोर्ने

प्रकृति मृत्यु प्रकरण : नेपाल फर्किएका विद्यार्थीको आतेजाते टिकट खर्च विश्वविद्यालयले बेहोर्ने

काठमाडौं : भारतको ओडिशाको भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) को होस्टेलमा प्रकृति लम्सालको मृत्यु भएको घटनामा नेपाली विद्यार्थीलाई निकालेको विश्वविद्यालयले विद्यार्थीको आतेजाते टिकट खर्च बेहोर्ने भएको छ।

नयाँ दिल्लीमा रहेको नेपाली दूवावासले एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्री आरजु राणाले शैक्षिक संस्थाका पदाधिकारीहरुसँग गरेको छलफलका क्रममा यस्तो निर्णय भएको जनाएको छ।

‘माननीय परराष्ट्रमन्त्रीज्यूले राजदूतावासका पदाधिकारीहरुको उपस्थितिमा शैक्षिक संस्थाका पदाधिकारीहरुसँग भएको छलफलका क्रममा छात्रावास छोडेर नेपाल जानुभएका विद्यार्थीहरूको आतेजाते टिकट खर्च उक्त शैक्षिक संस्थाले नै व्यहोर्ने तथा कसैको परीक्षा छुट्न गएमा पुनः परीक्षाको व्यवस्था गर्ने प्रतिबद्धता शैक्षिक संस्थाले व्यक्त गरेको थियो।’

यसका अलावा घटनाका सम्बन्धमा आवश्यक छानबिन तथा बुझ्नका लागि यस राजदूतावासबाट खटाइएका पदाधिकारीहरू उडिसा पुगेर त्यहाँ भएका विद्यार्थीलाई भेटेको र सम्बन्धित शैक्षिक संस्थाका पदाधिकारीसंग समेत छलफल गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त छलफलका क्रममा माननीय परराष्ट्र मन्त्रीज्यूले समेत शैक्षिक संस्थाका पदाधिकारीहरूसँग फोनमा कुराकानी भएको विषय समेत दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।

यसै क्रममा मंगलबार दिउँसो राजदूतावास राजदूत डा. शंकर शर्माले उक्त संस्थाका संस्थापक अध्यक्ष अच्युत सामन्तसँग समेत कुराकानी गरेको र उडिसा राज्य सरकारले यस घटनाका सम्बन्धमा उच्चस्तरीय जाँचबुझ समिति समेत गठन गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै घटनामा अहिलेसम्म ६ जनालाई पक्राउ गरिएको छ। प्रकृतिका पूर्वप्रेमी भनिएका अद्विक श्रीवास्तवलाई यसअघि नै पक्राउ गरिसकेको स्थानीय प्रहरीले मंगलबार विश्वविद्यालयका एक जना भारतीय विद्यार्थी, तीन निर्देशक र  दुई सुरक्षा गार्डलाई पक्राउ गरिएको दैनिक भास्करमा उल्लेख छ।

यस विषयमा अनुसन्धान गर्न ओडिशा सरकारले मंगलबार गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त, सह–सचिव सम्मिलित एक उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको छ।

फेब्रुअरी १६ को साँझ बीटेक तेस्रो वर्षकी विद्यार्थी प्रकृति लम्सालको शव कलेजको होस्टेलमा फेला परेको थियो। उनले आत्महत्या गरेको भनिएको थियो। विद्यार्थीको मृत्युलाई लिएर कलेजका नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले प्रकृतिसँगैको ब्याचका एक भारतीय विद्यार्थीले उनलाई दुर्व्यवहार गरिरहेको आरोप लगाएका छन्। उजुरीपछि पनि विश्वविद्यालयले अभियुक्तहरू विरुद्ध कारबाही नगरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूले विश्वविद्यालयले यो विषयलाई दबाउन खोजेको पनि आरोप लगाएका छन्।

मृतक विद्यार्थीको काकाको छोराको उजुरीको आधारमा प्रहरीले आरोपी भारतीय विद्यार्थीलाई पक्राउ गरेको छ। उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो।

भारतीय सरकारले गठन गरेको समितिको प्रतिवेदन अनुसार कानुनी र प्रशासनिक कारबाही गरिने भनिएको छ। विद्यार्थीविरुद्ध भएको बल प्रयोग र दुर्व्यवहारका रिपोर्टहरूको अनुसन्धान भइरहेको जनाइएको छ। घटनाका जिम्मेवार व्यक्तिहरू विरुद्ध कानुनी कारबाही गरिने जनाइएको छ।

फागुन ७, २०८१ बुधबार १०:११:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।