बाढीले बगाएका सडक र पुल बनाउन १८ अर्ब ८८ करोड दिन अर्थको सहमति

बाढीले बगाएका सडक र पुल बनाउन १८ अर्ब ८८ करोड दिन अर्थको सहमति

काठमाडौँ : बाढी पहिरोबाट क्षति भएका २६ सडक र पुल पुनः निर्माण गर्न अर्थ मन्त्रालयले १८ अर्ब ८८ करोड रुपैंया बराबरको सहमति प्रदान गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ मा सो रकम माग भएको थियो। मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती आयोजना पुनः निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन्।

अर्थ मन्त्रालयका अनुसार स्रोत सहमति भएका आयोजनामा १३ सडक र १३ पुल पुनः निर्माणसँग सम्बन्धित आयोजना छन्। सडक पुनः निर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गलगायत छन्।

अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाको पुनः निर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सृजना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ।

फागुन ६, २०८१ मंगलबार १८:२९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।