सभामुखलाई सुदन किराँतीको प्रश्न : ओडिसा घटनाबारे हिजो बाेल्न नियमावलीले छेक्यो कि नियतीले?

काठमाडौं : माओवादी केन्द्रका सांसद् सुदन किराँतीले सभामुख भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डूिट्रयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको विषय सदनमा उठाउन खोज्दा रोकेको प्रति सभामुखलाई कटाक्ष गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद किराँतीले सोमबारको बैठकमा भारतमा नेपाली विद्यार्थीको मृत्यु र दुर्व्यवहारको विषयमा कुरा उठाउन खोज्दा नदिएकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
‘हिजो मात्र भारतको ओडिसा राज्यमा घटेको घटनाले देश स्तब्ध भएको बेला हाम्रो संसद् बेखबर रह्यो। माननीयहरुलाई यो विषयमा बोल्न प्रतिबन्धजस्तै गरियो। आज बोल्न मिल्ने, हिजो बोल्न नमिल्ने किन होला सभामुख महोदय?’
उनले अगाडि थपेका छन्, ‘नियमावलीले छेक्यो कि नियतले रोक्यो? प्रक्रियामा त्रुटी भयो वा हाम्रो मष्तिस्कमा पूर्वाग्रह रह्यो? दुःखका साथ भन्नुपर्छ, संसद्मा नागरिकका अजेन्डाले स्थान पाउन छोड्यो। बरु मिडिया खपतका लागि आरोप–प्रत्यारोप गर्ने र दुर्व्यसनीको अड्डाजस्तै बन्दै गएको छ संसद्।’
फरक प्रसंगमा उनले प्रधानमन्त्रीसँगको सवाल जवाफको दिनको अवस्था हेरेर दुनियाँ हाँसिरहेको समेत बताए।
‘केही दिनअघि प्रधानमन्त्रीसँगका सवालजवाफमा हाम्रो कुरुप चित्र देखेर दुनियाँ हास्यो। सायद सभामुख महोदयलाई पनि भित्रभित्रै लज्जाबोध भइराखेको होला,’ उनले थपे, ‘आज मुलुकलाई अहंकार र अराजकता हैन, धैर्यता संयमता, त्याग र उच्च नैतिकता आवश्यक परेको छ।’
सोमबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सुमना श्रेष्ठले भारतको केआईआईटी विश्वविद्यालयमा प्रकृति लम्सालको मृत्यु भएको विषय र अन्य विद्यार्थीमाथि भएको दुर्व्यवहारको बारेमा कुरा उठाउन खोज्दा सभामुख देवराज घिमिरले समय दिएका थिएनन्।
फागुन ६, २०८१ मंगलबार १४:०८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।