‘दुई तिहाइको दम्भ सिंहदरबार र संसदमा देखियो, छिमेकीको चौकिदारले नेपालीलाई सहजै पिट्दिन्छ’

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा सांसदहरूले भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटनाबारे सत्यतथ्य छानिबन गर्न कुटनीतिक पहल गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकको आकिस्मक समयमा बोल्दै सांसदहरूले लम्सालको न्यायका लागि गम्भीर कुटनीतिक पहल गर्न माग गरेका हुन्।
बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रकृतिको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारको बारेमा सरकारको तर्फबाट उच्चस्तरीय कुटनीतिक र राजनीतिक संवाद गर्न ढिला भइसकेका भन्दै त्यसको तत्काल थालनी गर्न माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देशको कुटनीतिक रणनीति कमजोर हुँदा छिमेकको एउटा कलेजको चौकीदारले पनि नेपाली विद्यार्थीलाई सजिलै पिट्दिन सक्ने स्थिति रहेको बताए।
त्यहाँका कर्मचारी र चौकीदारले ‘तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको बजेटभन्दा बढी छ’ भनेर हेपिरहेको भन्दै दुई तिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर त हाम्रा नागरिकले फिल नै गर्न नपाएको बताए।
यसका अलावा एमाले सांसद् ठाकुर गैरेले नेपाल र नेपालीहरूप्रति भारतीय प्रशासकहरूले गरेको दुर्व्यवहारको बारेमा खेद प्रकट गर्दै हिजोदेखि आजसम्मको घटनाको बारेमा थप जानकारी गराउन सरकारसँग आग्रह गरे।
त्यसैगरी एमाले सांसद् छविलाल विश्वकर्माले पनि प्रकृतिको शंकास्पद मृत्युको छानविन गर्न र नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको लागि कुटनीतिक पहल गर्न आग्रह गरे।
फागुन ६, २०८१ मंगलबार १३:३९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।