डेनिस क्रोनर नोट फागुन मसान्तपछि सटही नहुने

काठमाडौं : डेनमार्कको डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने भएको छ। सोमबार नेपाल राष्ट्र बैंकले एक सूचना निकालेर फागुनपछि डेनिस क्रोनर सटही नहुने जानकारी दिएको हो।
डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर नोटहरू यही फागुन मसान्तपश्चात सटही नगर्ने राष्ट्रबैंकले जनाएको छ।
राष्ट्र बैंकले डेनिस क्रोनर नोट भएका व्यक्तिहरूले फागुन मसान्तभित्र राष्ट्र बैंकको बैंकिङ विभाग, प्रदेशका कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट तोकिएको समयमा साट्न भन्दै सूचनामा उल्लेख गरेको छ।
राष्ट्र बैंकले फागुन मसान्त पश्चात डेनिस क्रोनर नोट सटही गर्न सम्बन्धित निकाय बाध्य नहुने पनि बताएको छ।
कानूनी ग्राह्यता खारेज गरिएका बैंकनोटहरू सम्बन्धी विस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध रहेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ।
फागुन ६, २०८१ मंगलबार ०९:४७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।