संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघीय संसद्को अन्तर्गत दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गर्ने कार्यसूची छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै मन्त्री भण्डारीले विद्युतीय व्यापार (ई कमर्स) विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने पनि संसद् सचिवालयले जनाएको छ।

यता राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०(८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेश गर्नेछन्। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

फागुन ६, २०८१ मंगलबार ०७:४१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।