तीन संस्थाद्वारा राष्ट्रिय एआई नीति सुधारका लागि १० बुँदे सिफारिस

तीन संस्थाद्वारा राष्ट्रिय एआई नीति सुधारका लागि १० बुँदे सिफारिस

काठमाडौं : नेपाल सरकारको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८१ लाई थप प्रभावकारी बनाउन तीन संस्थाहरूले १० बुँदे सिफारिससहितको अवधारणा पत्र सरकारलाई हस्तान्तरण गरेका छन्।

सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई नेपाल), इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपीसर्ट) र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट (आईजीआई) ले संयुक्त रूपमा तयार पारेको उक्त अवधारणा पत्र आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरिएको हो।

अवधारणापत्रमा नेपालको सामाजिक-आर्थिक विकास, राष्ट्रिय आकाङ्क्षा र विश्वव्यापी एआई प्रवृत्तिसँग तालमेल हुने गरी नीति निर्माण गर्न जोड दिइएको छ। यसमा नीति कार्यान्वयनका लागि प्राथमिकता निर्धारण, समय सीमा, स्पष्ट जिम्मेवारी, प्रभावकारी अनुगमन संयन्त्र, क्षमता विकास र नैतिक तथा समावेशी पक्षहरूलाई विशेष महत्त्व दिइएको छ।

'एआई प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाका दृष्टिकोणले यो नीति अत्यन्त महत्त्वपूर्ण छ,' सीएसआरआई नेपालका अध्यक्ष प्रा.डा. सुवर्ण शाक्यले भने'यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरूबीच समन्वय र सहकार्य आवश्यक छ।'

मन्त्री गुरुङले अवधारणा पत्र लिँदै नीति निर्माणमा सबै पक्षको सहभागिता र सुझावलाई समेट्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले नीतिलाई छिट्टै पारित गरी कार्यान्वयनमा ल्याइने बताए।

फागुन ५, २०८१ सोमबार ०५:४४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।