क्यानडादेखि मोरिसससम्म लैजाने प्रलोभनमा १४ जना ठगेको आरोपमा दुई जना पक्राउ

भक्तपुर : आकर्षक तलबको प्रलोभन देखाएर क्यानडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रवार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–४ काफ्ले चोक घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी पक्राउ गरेको हो।
भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार उनीहरूले लामो समयदेखि विदेश पठाइदिन्छु भन्दै झुक्क्याउँदै आएको र पछि सम्पर्कमा नआएपछि १४ जना पीडितले जाहेरी दिएका थिए। न्यौपानेका अनुसार अनुसन्धानका क्रममा १४ जना बेरोजगार युवाबाट ७१ लाख ७० हजार ठगी गरेको पाइएको छ।
फागुन २, २०८१ शुक्रबार २२:२७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।