दीपकसँगको प्रेमील तस्बिर सेयर गर्दै दीपाले लेखिन्– ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’

दीपकसँगको प्रेमील तस्बिर सेयर गर्दै दीपाले लेखिन्– ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’

काठमाडौं : कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाबीचको प्रेम सम्बन्धको चर्चाको विषय नयाँ होइन। हास्य टेलिश्रृंखला ‘तीतो सत्य’को समयदेखि उनीहरू प्रेममा रहेकोबारे चर्चा हुने गर्थ्यो।

यसलाई दुवैले विभिन्न अन्तर्वार्ताहरूमा समेत अभिव्यक्त गर्दै आएका छन्। दीपकले आफू विवाहित रहेको र प्रेममै भए पनि दोस्रो विवाह हुन नसक्ने बताइसक्दा पनि दीपाले भने कयौं अन्तर्वार्तामा आफ्नो प्रेम दीपक भएको बताइरहेकै हुन्।

अन्य कलाकारहरूले जस्तो उनीहरूले कसमेकम यो सम्बन्धलाई ‘व्यावसायिक मात्र’ नभनेर प्रेम रहेको स्वीकार गरेका छन्। हुन त प्रेम र विश्वास नै नभई २५ वर्षभन्दा लामो सहकार्य हुन सम्भव छैन। रेडियो कार्यक्रम ‘धनियाँकी दुनियाँ’बाट सुरु भएको उनीहरूको सहकार्य अहिले पनि उत्तिकै मजबुद छ।

चलचित्र निर्माणमा आएपछि उनीहरूसँग जोडिएका अन्य कलाकारहरू छुट्टिँदा समेत उनीहरू एकजुट भएर काम गरिरहेका छन्।

यसैबीच प्रेम दिवसको अवसरमा चलचित्र निर्देशक समेत भइसकेकी कलाकार दीपाश्री निरौलाले निर्माता दीपकराज गिरीसँगको पुरानो प्रेमील तस्बिर सेयर गर्दै प्रणय दिवसको शुभकामना दिएकी छन्। राजीब श्रेष्ठले खिचेको तस्बिर सेयर गर्दै दीपाले ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ लेखेर पछाडि मायाको इमोजी राखेकी छन्।

फागुन २, २०८१ शुक्रबार १४:२२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।