ट्रम्पसँगको भेटपछि मोदीले भने- अवैध रूपमा बसोबास गरेकालाई फिर्ता लैजान तयार छौँ

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीयहरूलाई फिर्ता लैजाने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा मोदीले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘यस विषयमा हाम्रो विचार एउटै छ र यदि अमेरिकामा अवैध रूपमा बसोबास गर्ने कुनै पनि भारतीयको पुष्टि भए हामी उनीहरूलाई भारत फिर्ता लैजान पूर्ण रूपमा तयार छौँ।’
केही आप्रवासीहरूलाई मानव तस्करहरूले ल्याउने र ती आप्रवासीहरूलाई अमेरिका ल्याइँदैछ भन्ने पनि थाहा नहुने तर्क समेत मोदीले गर्न भ्याए।
उनले भने, ‘यी धेरै सामान्य परिवारका मानिस हुन्। उनीहरूलाई ठूला सपना देखाइन्छ र ठूला वाचा गरिन्छ। अवैध रूपमा अमेरिका प्रवेश गराइएका युवाहरूलाई जोगाउन मानव बेचबिखनमाथि कारबाही गर्नु आवश्यक छ।’
ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि अमेरिकाले आफ्नो सैन्य विमान प्रयोग गरेर कागजात नभएका भारतीयहरूको समूहलाई भारत फिर्ता पठाएको छ।
गत हप्ता, भारतका विदेशमन्त्री एस जयशंकरले स्वदेश फिर्ती प्रक्रियाको क्रममा भारतीय नागरिकहरूसँग कुनै दुर्व्यवहार नहोस् भनेर सुनिश्चित गर्न अमेरिकासँग काम गरिरहेको बताएका थिए।
फागुन २, २०८१ शुक्रबार ०७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।