बाबुराम भट्टराईको दुई ‘अधुरा ख्वाब’

काठमाडौँ : पुष्पकमल दाहाल प्रचण्डसँगको शक्ति सङ्घर्षमा टिक्न नसकेपछि डा बाबुराम भट्टराई गैर कम्युनिस्ट विचारधाराको पार्टी बनाउने दाबी गर्दै आठ वर्ष अगाडि माओवादीबाट अलग्गिए। पार्टीमा रहेका आफू निकटका नेताहरू लिएर उनले २०७३ भाद्र ७ मा नयाँ शक्ति पार्टी नेपालको नाममा पार्टी दर्ता गरेर वैकल्पिक शक्तिको स्थापना गर्ने दाबी गरेका थिए।
आठ वर्षको दौरानमा पार्टीको नाम बदलिँदै गएर अहिले नेपाल समाजवादी पार्टी हुँदै स्थापनाकालको नयाँ शक्ति शब्द अहिले फुर्कोमा सीमित बनेको छ। यो बिचमा वैकल्पिक राजनीतिक शक्ति बन्नेभन्दै विवेकशील नेपाली दल, साझा पार्टी, विवेकशील साझा हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसम्म राजनीतिमा उदायो।
विवेकशीलले बाटो बनाउँदा बनाउँदै साझा पार्टीसँगको एकतासँगै वैकल्पिक दल बन्ने बाटो बिचैमा भत्कियो। रवीन्द्र मिश्र आफ्ना विश्वासपात्र लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि अहिले पनि साझा विवेकशील पार्टी कानुनी अस्तित्वमा छ। तर स्थानीय तहको निर्वाचनमा कतै उम्मेदवारी समेत दिन नसक्ने गरी कमजोर बनेर राजनीतिक अस्तित्वमा छैन।
पहिलो पटक निर्वाचनमा सहभागी हुँदा नै रास्वपा संसद्को चौथो दलको रूपमा उदायो। तर प्रारम्भदेखि नै कहिले नागरिकता, कहिले राहदानी हुँदै अहिले पाँच जिल्लामा पाँच सहकारीको रकम ठगीको अभियोगमा यसका सभापति जिल्ला जिल्ला धाउँदा रास्वपा पनि मुर्झाउने बाटोमा छ।
नयाँ शक्तिको गठनपछिको उपलब्धि भनेको आफू अनि आफू निकटका नेतालाई गठबन्धन गरेर सांसद बन्ने र बनाउने बाहेक बाबुरामले उल्लेखनीय उपलब्धि हासिल गर्न सकेका छैनन्। तर उनले युवाहरूलाई राजनीतिमा सक्रिय गराउने अनि वैकल्पिक राजनीतिक शक्तिको उदय गराउने सपना भने टुट्न दिएका छैनन्।
वैकल्पिक राजनीतिक शक्ति बन्न प्रयासरत नयाँ अनि पुराना दलका नेताहरूसँग बेलाबखत छलफल पनि गर्छन्। आन्तरिक रूपमा सहकार्यको प्रयास नगरेका पनि हैनन्। तर उनको प्रयास सफल भएको छैन। हुने सङ्केत पनि देखिएको छैन।
नयाँ शक्ति गठनताका साथ दिएका देवेन्द्र पौडेलसहित अधिकांश पूर्व माओवादी नेताहरू पुरानै घरमा फर्किसकेका छन्। खिमलाल देवकोटा उनको साथमा छैनन्। रामचन्द्र झा पनि हिँडे,रामकुमार शर्मा टिकेनन्।
पार्टीलाई एक्लै अगाडि बढाउन नसकेपछि उनले नयाँ शक्तिलाई सङ्घीय समाजवादी फोरममा बिलय गराए। पार्टीको नाम जनता समाजवादी पार्टी भयो। तर उनी त्यसमा पनि लामो समय टिक्न सकेनन्। त्यहाँका केही नेता बोकेर उनी अलग भए।
जसपाबाट जुन नेताहरू बोकेर अलग भएका थिए अहिले उनीहरू पनि बाबुरामबाट अलग भइसकेका छन्। तै पनि वैकल्पिक राजनीतिक शक्तिको स्थापना गर्ने दाबी गर्न छाडेका छैनन् उनले। उनले आफ्नो पार्टीमार्फत युवालाई राजनीतिको केन्द्रमा स्थापित गर्ने दाबी गर्न पनि छाड्दैनन्। तर नेतृत्वको अवसर पनि निर्माण गर्दैनन्।
अन्य पुराना दलका नेताहरू जस्तै उनले यो आठ वर्षको बिचमा पार्टीको नेतृत्वमा युवालाई आउन दिएका छैनन्। निरन्तर आफैँ अध्यक्ष बनिरहेका छन्। पार्टीभित्र उनको नेतृत्वलाई चुनौती दिने नेताको समेत अभाव देखिँदै आएको थियो।
यस पटक दृश्य अलि बदलियो। नेत्र चापागाईँले नेतृत्वमा बाबुरामलाई चुनौती दिए। लु म संरक्षण भएर चापागाईँलाई अगाडि बढाउँछु भन्न सकेनन् उनले। प्रतिस्पर्धा गरे। मतदान अगाडि जे अनुमान देखिएको थियो परिणाम त्यही आयो। बाबुराम अध्यक्षमा निर्वाचित भए। धन्न ७३ जना मतदाताले भए पनि बाबुरामको विकल्प खोज्दै चापागाईँलाई मत दिए। र बिहीबारै बाबुरामले पुन पार्टी अध्यक्षको शपथ लिए।
उनको सङ्गठन र राजनीतिक धारले नयाँ शक्ति नेपालको बलियो वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाउने सम्भावना अहिलेसम्म देखिएको छैन। उनको यो ख्वाब (सपना) अधुरै हुने देखिन्छ। नेतृत्वमा युवा पुस्ताको उनको दोस्रो ख्वाब (सपना) उनी आफैँले पुरा हुन दिँदैनन्।
यसले उनको ख्वाबको आयु उनको आयुसँगै जोडिएको देखिन्छ।
फागुन १, २०८१ बिहीबार २१:४१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।