एकीकृत समाजवादीसँग एकता र २०८४ मा बहुमत ल्याउने वर्षमानको दाबी

खोटाङ ; माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुनसक्ने दाबी गरेका छन्। ३० औँ जनयुद्ध दिवसमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले समाजवादीसँग आफूहरूको कार्यदिशामा समानता रहेको दाबी गरे।
उनले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरू रहेको बताए।
‘एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रूपमा धेरै कुरा मिल्छ। ढोलिछिटो हामी एकै ठाउँमा हुने सम्भावना छ’, उनले भने, ‘युद्ध गर्ने होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै जान तयार भए वैद्यजी, विप्लवजीहरूसँग पनि एकता हुन्छ। हिजो सँगै लडेका र जनयुद्धको विरासत बोकेका सबै समूहसँग एकताका लागि हामी खुला छौँ।’
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि कम्युनिस्ट ध्रुवीकरणको प्रक्रिया अघि बढिसकेको दाबी समेत गरे। उनले आगामी ०८४ को स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा कसैसँग पनि तालमेल नहुने दाबी गर्दै अहिल्यैदेखि निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिएका थिए।
‘०८४ मा स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा हामी एक्लै लड्ने छौँ, यसमा कसैलाई पनि भ्रम नहोस्। हामी अब एक्लै अगाडि बढेका छौँ’, पुनले भने, ‘हामी एक्लै जनताको जनमत लिन सक्ने भएका छौँ। करिब करिब ०६४ को जस्तै उभार देखिन थालेको छ।’
फागुन १, २०८१ बिहीबार १९:४५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।