भारतले क्लिन स्वीप गर्यो इंग्ल्यान्डविरुद्धको सिरिज, गिलको शतक

काठमाडौं : इंग्ल्यान्डविरुद्धको तीन एकदिवसीय खेलको सिरिज भारतले क्लिनस्वीप गरेको छ।
बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई एक सय ४२ रनले स्तब्ध बनाउँदै भारतले सिरिज क्लिन स्वीप गरेको हो।
अहमदावादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा तीन सय ५६ रन जोड्यो।
उसका लागि उपकप्तान शुभमन गिलले ११२ रनको शतकीय पारी खेल्दा श्रेयस अय्यरले ७८ र विराट कोहलीले ५२ रनको अर्धशतकीय पारी खेले।
यसका अलावा केएल राहुलले ४०, वासिङ्टन सुन्दरले १४ तथा हर्षित राना र अक्षर पटेलले १३-१३ रन जोडे।
इंग्ल्यान्डका लागि आदिल रसिदले चार विकेट लिँदा मार्क वुडले दुई तथा साकिब महोम्मद, जो रुट र गुस अटकिन्सनले समान एक-एक विकेट हात पारे।
तीन सय ५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्ड ३४.२ ओभरमा २१४ रन बनाएर समेटियो।
उसका लागि टम ब्यान्टन र गुस अटकिन्सने सर्वाधिक ३८-३८ रनको पारी खेल्दा बेन डुकेट ३४, जो रुट २४, फिल साल्ट २३ र ह्यारी ब्रुकले १९ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका अर्शदिप सिंह, हर्षित राना, अक्षर पटेल र हार्दिक पाण्ड्याले समान दुई-दुई विकेट लिँदा कुलदीप यादव र वासिङ्टन सुन्दरले समान एक-एक विकेट लिए।
यसअघि भएको पहिलो र दोस्रो ओडिआईमा भारतले इंग्ल्यान्डलाई चार-चार विकेटले पराजित गरेको थियो।
फागुन १, २०८१ बिहीबार ०८:०२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।