पाकिस्तानले गर्‍यो अहिलेसम्मकै ठूलो रन चेज, त्रिदेशीय सिरिजको फाइनलमा

पाकिस्तानले गर्‍यो अहिलेसम्मकै ठूलो रन चेज, त्रिदेशीय सिरिजको फाइनलमा

काठमाडौं : कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिदेशीय सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ।

३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो।

पाकिस्तानले यसअघि सन् २०२३ मा घरेलु मैदान लाहोरमै अष्ट्रेलियाविरुद्ध ३ सय ४९ रनको लक्ष्य पूरा गरेको थियो।

पाकिस्तानको जितमा सलमान अघाले १ सय ३ बलमा १६ चौका र २ छक्कासहित १ सय ३४ रनको शतकीेय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए। उनले ओडीआईमा पहिलो शतक हानेका हुन्।

लुंगी एनगिडीको४९ औं ओभरको पाँचौं बलमा एज लागेको अपिलमा दक्षिण अफ्रिका सफल भएपछि सलमान अविजित फर्किन पाएनन्। उनी आउट हुँदा जित्नलाई २ रन आवश्यक हुँदा तयाब ताहिरले चौका हान्दै खेल सकाए।

कप्तान मोहम्मद रिजवान १ सय २८ बलमा ९ चौका र ३ छक्कासहित १ सय २२ रनमा अविजित रहे। एक समय १०.४ ओभरमा ९१-३ को अवस्थामा पुगेको पाकिस्तानलाई चौथो विकेटका लागि रिजवान र सलमानले २ सय २९ बलमा २ सय ६० रनको साझेदारी गरेका थिए।

यो पाकिस्तानी ब्याटरले ओडीआईमा चौथो विकेटलाई गरेको उच्च साझेदारी हो। यसअघि चौथो विकेटलाई सन् २००९ मा सोएब मलिक र मोहम्मद युसुफले भारतविरुद्ध २ सय ६ रनको साझेदारी गरेका थिए।

पाकिस्तान ओडीआई इतिहासकै यो तेस्रो ठूलो साझेदारी हो। यसअघि ओपनर फखार जमान र इमाम उल हकको २०१८ मा जिम्बावेविरुद्ध ३ सय ४ तथा सन् १९९४ मा न्युजिल्यान्डविरुद्ध इन्जामाम उल हक र अमर सोहेलले दोस्रो विकेटलाई २ सय ६३ रनको साझेदारी गरेका थिए।

ओपनर फखार जमान २८ बलमा ६ चौका र १ छक्कासहित ४१, बाबर आजम १९ बलमा ४ चौकासहित २३ र साउद सकिल १५ रनमा आउट भए। दक्षिण अफ्रिकाका वियान मुल्डरले २, लुंगी एनगिडी र कोब्रिन बोचले १-१ विकेट लिए ।

त्यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो। युवा ब्याटर म्याथ्यु ब्रिट्ज्कीले ८४ बलमा १० चौका र १ छक्कासहित ८३ रन बनाए।

उनले न्युल्यिान्डविरुद्ध डेब्यू खेलमै १ सय ५० रनको शतकीय इनिङ खेलेका थिए। हेनरिक क्लासेनले ५६ बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन जोडे। कप्तान टेम्बा बभुमा ९६ बलमा १३ चौकासहित ८२, टोनी डी जोर्जी २२, काइल भेरेभन ४४ रनमा आउट भए।

पहिलो इनिङ्समा मैदानमा दुवै पक्षका खेलाडीबीच माहाेल केही गर्माएको थियो। पाकिस्तानका शाहिन शाह अफ्रिदी र दक्षिण अफ्रिकाका म्याथ्यु ब्रिट्ज्कीबीच मैदानमा ठेमलठेलको माहोल बनेको थियो।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले २, नसिम साह र खुसदील शाहले १-१ विकेट लिए। फाइनलमा शुक्रबार न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन्।

फागुन १, २०८१ बिहीबार ०७:३६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।