अमेरिकी राष्ट्रपति कार्यालयमा एपी न्युजलाई प्रतिबन्ध

अमेरिकी राष्ट्रपति कार्यालयमा एपी न्युजलाई प्रतिबन्ध

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)लाई राष्ट्रपति कार्यालय (ओभल अफिस)मा पत्रकार पठाउन प्रतिबन्ध लगाएका छन्।

मेक्सिकोको खाडीको सट्टा ‘अमेरिकाको खाडी’को नाम प्रयोग नगरेको भन्दै एपीका पत्रकारलाई ओभल अफिसमा प्रतिबन्ध लगाइएको समाचार एजेन्सीको दाबी छ।

समाचार एजेन्सीको सम्पादकीय नीति अमेरिकी राष्ट्रपतिको नीतिसँग मेल नखाए कुनै पनि कार्यक्रमको लागि ओभल अफिसमा प्रवेश नदिइने ह्वाइट हाउसले बताएको एपीका कार्यकारी सम्पादक जूली पेसले जानकारी दिइन्।

उनले भनिन्, ‘ट्रम्प प्रशासनले एपीलाई यसको स्वतन्त्र पत्रकारिताको लागि सजाय दिने कुरा चिन्ताजनक छ। हाम्रो समाचार सामग्रीको कारणले हामीलाई ओभल अफिसबाट वञ्चित गर्नुले जनतालाई स्वतन्त्र पत्रकारितामा पहुँच गर्नबाट मात्र रोक्दैन, यो स्पष्ट रूपमा हाम्रो संविधानको पहिलो संशोधनको उल्लङ्घन हो।’

अमेरिकी संविधानको पहिलो संशोधनलाई अधिकारको विधेयक भनिन्छ। यो १७९१ मा लागू गरिएको थियो। यो संशोधनले धर्म, अभिव्यक्ति र प्रेस स्वतन्त्रता प्रदान गर्दछ।

‘प्रेस सत्तामा बस्नेहरूको मुखपत्र होइन’
फाउन्डेसन फर इन्डिभिजुअल राइट्स एण्ड एक्सप्रेशनका निर्देशक आरोन टारले ट्रम्पको निर्णयलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भनेका छन्।

टारले भनेका छन्, ‘प्रेसको भूमिका सत्तामा रहेका मानिसहरूलाई जवाफदेही बनाउनु हो, उनीहरूको मुखपत्र बन्नु होइन। मौलिक स्वतन्त्रतालाई समाप्त पार्ने सरकारको कुनै पनि प्रयासको निन्दा गरिनुपर्छ।’

ह्वाइट हाउस संवाददाता संघ (WHCA)का अध्यक्ष युजीन डेनियलले ह्वाइट हाउसले समाचार एजेन्सीहरूले कसरी समाचार प्रस्तुत गर्ने भनेर निर्देशन दिन नसक्ने बताए। उनले सम्पादकीय निर्णयहरूबाट असन्तुष्ट भएको कारणले पत्रकारहरूलाई दण्डित गर्न नहुनेतर्फ सचेत गराए।

अर्कोतर्फ, राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार अमेरिकाभित्र गुगल म्यापमा मेक्सिकोको खाडीको नाम परिवर्तन गरी ‘युएस खाडी’ राखेको छ। यद्यपि मेक्सिकोमा ‘मेक्सिकोको खाडी’ नाम देखा पर्नेछ। बाँकी देशहरूमा दुवै नाम देखिनेछन्।

माघ ३०, २०८१ बुधबार १३:०५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।