सवारी दुर्घटनामा शिक्षकको मृत्यु, विद्यालयमा शोक विदा

सवारी दुर्घटनामा शिक्षकको मृत्यु, विद्यालयमा शोक विदा

काठमाडौं : धनुषामा भएको सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ। 

मिथिला नगरपालिका-४ पुष्पवलपुर निवासी पूर्णबहादुर विश्वकर्माको सोमबार राति सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनी स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार जनकपुरधामबाट ढल्केबरतर्फ आउँदै गर्दा सोमबार राति करिब ९ बजे उनले चलाएको मधेश प्रदेश ०२ ००७प ५०२० नम्बरको स्कुटर मिथिला नगरपालिका-२ नक्टाझिजमा दुर्घटनामा परेको थियो।

गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि तत्काल जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा विश्वकर्मा सवार स्कुटरलाई ठक्कर दिएको आशङ्कामा बा. १८ च. ८७६८ नम्बरको स्कारपियो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

निरीक्षक साहले दुर्घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूसँग सोधपुछ भइरहेको जानकारी दिए। 

शिक्षक विश्वकर्माको मृत्युको शोकमा मिथिला नगरपालिकाभरिका सामुदायिक र संस्थागत विद्यालयमा मङ्गलबार एक दिनको शोक बिदा दिइएको छ। 

माघ २९, २०८१ मंगलबार १७:३२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।